हेटौंडाः मकवानपुर प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई आइतबार पक्राउ गरेको छ । फरक–फरक स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला अदालत मकवानपुरको २०७७ माघ २८ गतेको फैसलाले चोरी मुद्दामा १ बर्ष ४ महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कैलाश गाउँपालिका–८ का १८ बर्षिय राजेन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । उनी मनहरी–९ बाट आइतबार पक्राउ गरेका हुन् । मोक्तानलाई जिल्ला अदालत मकवापनुरमा उपस्थित गराई बाँकी कैद तथा जरिवाना भुक्तानी गर्नका लागि भिमफेदी कारागार पठाउने कार्य भइरहेको प्रहरीेले जनाएको छ ।
यस्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख १६ गतेको फैसलाले लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको फरार प्रतिवादी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ का ३० बर्षिय पुर्ण बहादुर गोलेलाई पक्राउ गरेको छ । गोलेलाई हेटौंडा–२ बाट पक्राउ गरेको हो । उनलाई पनि बाँकी कैद भुक्तानीका लागि भिमफेदी कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख १७ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको कैलाश गाउँपालिका–१ का ३७ बर्षिय पेमा योञ्जन पनि पक्राउ परेका छन् । हेटौंडा–२ बाट नै उनी पनि पक्राउ परेका हुन् । उनलाइ अदालतमा जरिवाना भुक्तानीका लागि उपस्थित गराइएको थियो ।
जिल्ला अदालत मकवानपुरका २०७७ फाल्गुन १७ गतेको फैसलाले चेक अनादर मुद्दामा १ हजार जरिवाना भुक्तानी गर्न बाँकी फरार प्रतिबादी मकवानपुरको कैलाश गाउँपालिका–२ को २७ बर्षिय दिल बहादुर नेगीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार हेटौडां–२ बाट पक्राउ गरि उक्त जरिवाना भुक्तानी गर्नका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।