मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशले हेटौंडामा शैक्षिक कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न तीन विषयमा स्नातक तहमा अध्यापनको अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याब टेक्नोलोजीमा ३० सिट अध्यापनको लागि अनुमति प्रदान गरेको छ । स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पूरा गरेपछि शैक्षिक सत्र सञ्चालनका लागि अनुमति पाएको हो । यस अघिदेखि नै चिकित्सा शिक्षा हेटौंडामा नभएका हैनन् । तर सरकारी तहबाटै अध्यापन सुरु हुनुले स्वास्थ्यका क्षेत्रमा नयाँ आयाम हुने अपेक्षा बढेको छ ।
स्वास्थ्यका क्षेत्रमा निकै पछाडि परेको मकवानपुरलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान कोशेढुंगा हुनसक्ने देखिएको छ । मेडिकल कलेजका लागि यहाँ लामो समयदेखि प्रयास भए पनि सञ्चालन असफल हुँदै आएको हो । यस्तै प्राविधिक शिक्षाका लागि भारत सरकारको सहयोगमा सुरु हुने भनिएको प्राविधिक महाविद्यालय पनि अघि बढ्न नसकेको अवस्थामा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको केही समयमा नै आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । यसले स्वास्थ्य क्षेत्रमा जिल्लाबासीमा नयाँ आशा र विश्वास देखिन्छ । अब हेटौंडाबाट उत्पादन हुने स्वास्थ्य क्षेत्रका जनशक्तिले यहीँका अस्पतालहरुमा सेवा दिन थालेपछि हेटौंडा पनि स्वास्थ्य क्षेत्रमा अघि बढ्नेछ । नागरिकले स्वास्थ्य सेवामा पाएको हैरानी अब केही वर्षपछि अन्त्य हुने अपेक्षा बढाएको छ ।
प्रतिष्ठानले कार्यक्रम सुरु गर्दै गर्दा केही प्रश्नको उत्तर भने खोज्नुपर्ने हुन्छ । प्रतिष्ठानको उद्देश्य र गठन विधिले निकै ठूलो संस्थाका रुपमा उदाएको देखाउँछ । स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्दै गर्दा कक्षा सञ्चालनका लागि स्थान अझै अनिश्चित छ । हालका लागि गौरीटारको खेलकुद पूर्वाधारलाई उपयोग गर्ने रणनीति देखिन्छ । तर त्यो स्थायी हुन सक्दैन । कोभिडको आवस्था सहज हुँदै गए उक्त संरचना खेलकुद क्षेत्रका लागि आवश्यक पर्ने अवस्था छ । खेलकुदका लागि निर्माण गरिएका संरचना स्वास्थ्यसम्बन्धी विषय अध्यापनका लागि पक्कै पनि सहज हुनेछैन । त्यसैले कक्षा सञ्चालनका लागि सहज हुने स्थायी संरचना बनाउनेतर्फ ध्यान दिनु उपयुक्त हुन्छ ।
खेलकुद र स्वास्थ्य अध्यापनका लागि एकै प्रकृतिका पूर्वाधार उपयोग हुन सक्दैनन् । कार्यक्रम घोषणा गर्दा त्यसका लागि आवश्यक पूर्वाधारको अवस्था र व्यवस्था महत्वपूर्ण पक्ष हो । तत्कालका लागि उपयोग गर्न सकिए पनि चिकित्सा शिक्षाको मापदण्डले खोजेको र निर्दिष्ट गरेका पूर्वाधार नभए विद्यार्थीले नै आपत्ति जनाउनेछन् । त्यस्तै स्वास्थ्यका नियामक निकायले यस कुरामा दिने प्रतिक्रिया अझ बाध्यकारी हुनसक्छ । व्यवस्थापनकै कमजोरीले हेटौंडामा आएको यो अवसरमा फेरि अन्य झमेला नआओस् भन्नेतर्फ सम्बन्धित पक्ष समयमै सचेत हुन जरुरी छ । हेटौंडामा सुरु भएको यो कार्यक्रम आलोचित नहोस् । उद्देश्यअनुसार चिकित्सकहरु उत्पादन गर्नसक्ने वातावरण राज्यले बनाउनु पर्दछ । आलोचना सुरु भएपछि स्थानको खोजी र व्यवस्थापन गर्नुभन्दा आजैबाट व्यवस्थापन गरौं ।