कोरोना महामारीले समाजका सबै क्षेत्र अस्तव्यस्त छन् । व्यापार, व्यवसाय ठप्प छ । नागरिकको आम्दानीका श्रोत बन्द भएका छन् । मानिसहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी छ । आदेश पालना गराउन प्रशासनबाट कडाई गरिएको अवस्था छ । तर पनि सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन जारी गरेको छ । अघिल्लो बर्षको लकडाउनका कारण चार महिना मात्र शैक्षिक गतिविधि गरेका विद्यालयहरुले अन्तिम परीक्षाको नतिजा नै तयार पार्न सकेको अवस्था छैन । केही विद्यालयले तयारी गरेका भए पनि धेरै विद्यालयहरु सरकारको निर्देशनपछि मात्र नतिजाको तयारी गर्न थालेका छन् ।

सरकारको निर्देशनपछि असार असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु गर्नु सम्बन्धित निकायको जिम्मेवारी नै हो । सोही अनुसार जिल्ला तथा स्थानीय तहले आफू मातहतका विद्यालयहरुलाई निर्देशन दिएका छन् । सरकारी भन्दा पनि नीजि विद्यालयहरु उत्साहित बनेका छन् । शैक्षिक सत्र सुरु गर्नु भनेको भर्ना अभियान सुरु हुनु हो । नयाँ कक्षामा भर्ना गर्ने र शुल्क असुल्न हतारो भएका विद्यालयहरु उत्साहित छन् । तर अभिभावकहरु भने चिन्तित बन्न थालेका छन् । आम्दानीका सबै श्रोत बन्द भएको अवस्थामा फेरी नानीहरुको भर्ना कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । विद्यार्थीको भविष्यका लागि सत्र सुरु गर्नु अनिवार्य नै छ । तर जोखिम न्यूनीकरणको अवस्था के हो भन्ने यकिन नहुँदा समस्या बढ्ने खतरा पनि देखिन्छ ।

देशका धेरै विद्यालयहरुले कोर्ष पुरा गराउनै पाएका छैनन् । शहर केन्द्रित विद्यालयले अनलाईनको माध्यमबाट कोर्ष सक्ने प्रयास गरेका भए पनि अधिकांश विद्यालयहरुले चार महिना मात्र अध्यापन गराएका छन् । एक बर्षको कोर्ष यति छोटो अवधिमा पूरा हुने सम्भावना नै थिएन । तर विद्यार्थीलाई अर्को कक्षामा चढाउनुको विकल्प छैन । नयाँ सत्र सञ्चालन गर्न परीक्षा र नतिजा महत्वपूर्ण पक्ष हो । त्यसैले विद्यालयहरु धमाधम काम गरिरहेका छन् । कोरोना महामारीकै अवस्थामा प्रत्यक्ष उपस्थिति भएर कक्षा सञ्चालन सम्भव छैन । तर पनि कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि विद्यालय पनि खुल्दै जाने अवस्था आउन सक्छ । तर होशियारीको पक्षमा विद्यालयहरुको ध्यान कत्तिको हुने छ भन्ने महत्वपूर्ण विषय हो ।
नयाँ शैक्षिक सत्र सुरु गर्ने भनिए पनि हालसम्म पाठ्यपुस्तक प्राप्त गर्ने सक्ने अवस्था बनेको छैन ।

काठमाडौंमा छापिएका पुस्तकहरु देशका दूरदराजसम्म पुर्‍याउन मुस्किल छ । महामारी सामान्य नभएसम्म वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिइसकेको छ । तर यो विधि कति प्रभावकारी भयो वा भएन भन्ने लेखाजोखा हुन सकेको छैन । सानो कक्षाका नानीहरुले अनलाईन विधिबाट कति सिक्न सक्छन् ? माथिल्लो कक्षाका लागि अनलाईन माध्यम केही उपयोगी भए पनि सानो कक्षाका लागि यो विधिमा पढाई पटक्कै प्रभावकारी हुन सक्दैन । त्यसैले शैक्षिक सत्र सुरु गर्नु भन्दा पहिला कोरोनाबाट उन्मुक्तीको वातावरण बनाउनु आवश्यक हुन्छ ।