हेटौंडाः फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र अष्ट्रेलिया दोस्रो पटक आमने सामने हुनेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस अघि नेपाल र अष्ट्रेलियाबीच विश्वकप छनोट अन्तर्गत नै २०१९ अक्टोबर १० मा प्रतिस्पर्धा गरेका थिए । अष्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा भएको पहिलो लेगको भेटमा नेपाल घरेलु टिमसँग ५–० ले पराजित भएको थियो ।
पहिलो हाफमा ३–० ले पछि परेको नेपाल दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो । अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । यस्तै ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए । समूह चरणको दोस्रो लेगका लागि यतिबेला नेपाल र अष्ट्रेलिया कुवेतमा रहेका छन् । घरेलु मैदानमा खेल्नु पर्ने दोस्रो लेग कोरोना महामारी कारण नेपालले न्युट्रल भेन्युमा खेलिरहेको हो ।
पहिलो लेगमा नेपालको रक्षापंक्तिमा दिनेश राजवंशी, अनन्त तामाङ, रञ्जित धिमाल र देवेन्द्र तामाङ रहेका थिए । यतिबेला रक्षापंक्तिमा रहेका रोहित चन्दले अष्ट्रेलियासँगको पहिलो लेगमा मिडफिल्डको भूमिका निभाएका थिए ।
त्यस्तै मिडफिल्डमा रोहित चन्दसँगै विशाल राई, अन्जन बिष्ट, सुजल श्रेष्ठ र रवि शंकर पासवानले पनि सुरुवात गरेका थिए । स्ट्राइकरको भूमिकामा भने अभिषेक रिजाल रहेका थिए । दोस्रो हाफमा सन्तोष तामाङ, तेज तामाङ र विमल घर्तीमगर मैदान छिरेका थिए ।
अष्ट्रेलियाविरुद्धको पहिलो लेग खेल्ने टोलीमा रहेका १२ जना खेलाडी यस पटकको टोलीमा छैनन् । त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि शंकर पासवान, विमल घर्तीमगर, सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ, विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारी टोलीमा छैनन् ।
देवेन्द्र, रञ्जित, सुजल, विमल, विक्रम र तेज चोटग्रस्त छन् भने हेमन देश बाहिर छन् । अन्यले भने टोलीमा आफ्नो स्थान बनाउने मौका पाएनन् । पहिलो लेगमा सुरुवाती–११ मा रहेका ४ खेलाडी यतिबेला टोलीमा छैनन् । सुजल, देवेन्द्र, रञ्जित र रवि शंकरले अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा सुरुवाती–११ मा रहेका थिए ।
स्रोतः खेलपाटी डटकम