लागूपदार्थ दूव्र्यसनी पछिल्लो पुस्ताका लागि जटिल समस्या बन्दै आएको छ । सामाजिक विकृतिकै रुपमा मौलाउँदै गएको दूव्र्यसनीले परिवारदेखि सामाजिक बनौटमै समस्या श्रृजना भएको छ । युवा वर्ग मात्र होइन कि बिवाहबन्धनमा बाँधिएका पनि दूव्र्यसनीको लतमा फस्ने गरेका घटना छन् । युवाहरु कुलतमा लाग्नुको कारण, यसले समाजमा पारिरहेको असर, परिवारमा हुने क्षति जस्ता विषयमा अध्ययन हुन आवश्यक छ । राष्ट्रियस्तरमा धेरै अध्ययन नभएका होइनन् तर प्रतिवेदन तयार हुने र दराजमै थन्किने समस्याले दूव्र्यसन विरुद्धमा ठोस कार्यक्रम बन्न सकेका छैनन् । स्थानीयमा त समस्या पत्ता लगाउन र समाधानका लागि अध्ययन गर्ने काम निकै कम मात्र भएका छन् ।

आफ्नो तह भित्र लागूपदार्थको प्रयोग, कारोबार र ओसारपसारका विषयमा स्थानीय तहहरुले खोज, अनुसन्धान र विश्लेषण गरी नीति तथा योजना बनाउन आवश्यक हुन्छ । तर देशभरका धेरै कम मात्रै स्थानीय तहबाट यस्तो काम भएको पाइन्छ । त्यस मध्ये हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाले सुरुवात गरेको छ । वडा नम्बर ९ ले भने आफ्नो वडाको वस्तुस्थिति बारे अध्ययन गरेको छ । यो प्रयास अन्य स्थानीय तहका लागि उदाहरण बन्न सक्छ । लामो समयदेखि लागूपदार्थ दूव्र्यसनको क्षेत्रमा काम गरेको गैरसरकारी संस्था मार्फत वडाले अध्ययन गराएको छ । पछिल्लो समय वडामा रहेका युवाहरुद्वारा लागूऔषधको प्रयोग तथा दूव्र्यसनी बढ्दै गएको भन्दै के–कस्ता कारणले युवाहरु कुलतमा लाग्दछन् भन्ने विषयमा थाहा पाउन अध्ययन उपलव्धिमूलक बन्न सक्छ ।

वडाका विभिन्न ३९ जना लागूऔषध प्रयोगकर्ताहरुमा गरेको अध्ययनबाट प्रयोगकर्ताहरु मध्ये ६९ प्रतिशत प्रयोगकर्ता साथीकै माध्यमबाट लागूऔषध प्रयोग गर्न थालेको देखिएको छ । १८ प्रतिशतले रहरले दूव्र्यसनीमा फसेको बताएको अध्ययनले देखाएको छ । यस्तै ८ प्रतिशत आफूखुसीले र ३ प्रतिशत श्रीमतीका कारण तथा २ प्रतिशत दाजुभाईका कारण दूव्र्यसनीमा लागेको पाइएको छ । उनीहरुमध्ये १८ प्रतिशतले ५ देखि १० वर्षको उमेरमा नै पहिलो पटक लागूऔषध प्रयोग गरेको बताएका छन् भने ३३ प्रतिशतले १० देखि १५ वर्षको उमेरमा, २३ प्रतिशतले १५ देखि २० वर्षको उमेरमा, १० प्रतिशतले २० देखि २५ वर्षको उमेरमा तथा १६ प्रतिशतले २५ वर्षभन्दा माथिको उमेरमा पहिलो पटक लागूऔषध प्रयोग गरेका थिए ।

दूव्र्यसनको मुृख्य कारण बेरोजगारी देखिएको छ । कुनै काम नभएपछि युवाहरु चाहेर वा नचाहेर कुलतमा फस्ने खतरा बढी हुन्छ । वडाले गराएको अध्ययनले पनि त्यही कुरा पुष्टि गरेको छ । प्रयोगकर्तामध्ये ५४ प्रतिशतको रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन् । अध्ययन हुनु अत्यन्त राम्रो काम भए पनि देखिएको तथ्यका आधारमा आगामी कार्यक्रम के हुन्छन् भन्ने कुरा महत्वपूर्ण पक्ष हो । कुनै समस्याको फेद नै पत्ता लगाएपछि त्यसको समाधानमा पनि पहल गर्नु पर्दछ । वडा भित्र भएको समस्या त्यहीबाट समाधान हुन सक्ने अवस्था हुँदैन । वडाले गरेको कामले नीति निर्माण गर्ने कार्यक्रम र बजेट बनाउने तहका लागि खबरदारी मात्र हुन सक्छ । सबै स्थानीय तहबाट यसैगरी अध्ययन गराएर देशभरकै लागूऔषधको प्रयोगका अवस्था जानकारी हुनेछ ।