हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ मा पुस्तकालय सञ्चालनमा आउने भएको छ । हेटौंडाका युवाको एक समूहले समुदायमा आधारित पुस्तकालय सञ्चालनका लागि अभियान सुरु गरेसँगै नगरका दुई स्थानमा पुस्तकालय स्थापना हुन लागेको हो ।
‘पुस्तकालय अभियान समूह मकवानपुर’ नाम दिएर सुरु गरिएको अभियानमा स्थानीय टोल विकास संस्थाहरुको समन्वयमा पुस्तकालय सञ्चालन गर्न चाहे ५० हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराउने पुस्तकालय अभियान समूह मकवानपुरले जनाएको छ । केहीदिन अघि मात्रै सामाजिक सञ्जालमार्फत पुस्तकालय सञ्चालन गर्न इच्छुकलाई प्रस्ताव पेश गर्न आव्हान गरिएकोमा हेटौंडा–६ को टोल विकास संस्था वडा समन्वय समिति र हेटौंडा–७ स्थित समृद्ध युवा बचत कोषले पुस्तकालय सञ्चालन गर्न प्रस्ताव गरेको पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ । पठन संस्कृतिको विकासका लागि पुस्तकालय अभियान सञ्चालन गरिएको पनि श्रेष्ठले बताउनुभएको छ ।
हेटौंडा–७, नागस्वतीमा समृद्ध युवा बचत कोषले आउँदो शनिबार नै पुस्तकालय उद्घाटनको तयारी गरिरहेको छ । कोषले पुस्तकालयमा इन्टरनेटको सुविधासहित कम्प्युटर समेत राख्ने कोषका पूर्वअध्यक्ष एवम् सल्लाहकार सुशील सुवेदीले जानकारी दिनुभएको छ । कोषले हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको व्यावसायिक भवनको दोस्रो तल्लामा पुस्तकालय सञ्चालनमा ल्याउन लागेको छ । फर्निचर तयार पार्ने काम भइरहेको सुवेदीले बताउनुभएको छ ।