सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेदेखि बुधबार दिउँसो १२ बजेसम्मको अवधिमा दुईजनाको मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभएको छ ।

मंगलबार दिउँसो १२ बजेर ४५ मिनेटमा हेटौंडा–१६ की ६८ वर्षीया महिलाको मृत्यु भएको थियो भने बुधबार बिहान ६ बजेर ५ मिनेटमा हेटौंडा–२ की ५२ वर्षीया महिलाको मृत्यु भएको झाले जानकारी दिनुभएको छ । दोस्रो लहरको कोरोना महामारीमा हेटौंडा अस्पतालमा उपचाररत ६६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचार गराई स्वास्थ्यमा सुधार भएर ३ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएको पनि झाले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा अहिले कोरोना संक्रमित ५१ जना उपचाररत छन् ।