कोभिड महामारीले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । व्यापार व्यवसाय चौपट भएको छ भने नागरिकको दैनिकी सञ्चालन मुस्किल हुँदै गएको छ । विशेषगरी दैनिक ज्यालामजदुरी गरी छाक टार्नुपर्ने वर्गको समस्या सबैभन्दा ठूलो भएको छ । रकम हुनेहरुलाई पनि किनेर खाने अवस्थासमेत छैन । पसलहरु बन्द भए पनि दैनिक खाद्यान्न खरिदमै समस्या भएको छ । तर भोकभन्दा रोग ठूलो भन्दै देशका धेरै जिल्लाहरुमा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञालाई कोभिडविरुद्ध उपयोग गर्नुपर्ने अवस्थामा केही व्यक्ति र समूहले भने स्वार्थपूर्तिका लागि उपयोग गर्ने गलत परम्पराको अभ्यास हुँदै आएको छ । कृत्रिम अभाव श्रृजना गरेर कालोबजारी हुने गरेको गुनासो बढ्दै गएको छ ।

निषेधाज्ञाका कारण हेटौंडाको जनजीवन पनि प्रभावित हुँदै आएको छ । अन्य खाद्यान्नका अतिरिक्त तरकारी बजारको समस्या हुन थालेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कको तरकारी थोक बजार र हेटौंडा–४ खोपेगल्लीको तरकारी बजार बन्द भएका छन् । बैशाख ३० गतेदेखि दुबै तरकारी बजार बन्द भएका छन् । बजार बन्द भएपछि तरकारीको भाउ निकै वृद्धि भएको छ । बजारमा अभाव भएपछि मूल्य बृद्धि हुन स्वभाविक हो । तर आम्दानीको श्रोत नै बन्द भएका वर्गले तरकारी नै खान नसक्ने अवस्था भएको गुनासोको सुनुवाई कसले गर्ने ? खाद्यान्नकै समस्या भएका समूहलाई तरकारीमा बढेको मूल्यभन्दा छाक टार्ने समस्या देखिएको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।

खाद्यान्नलगायतका किराना पसल हप्ताको निश्चित दिन खुल्दा पनि उपभोक्ताले सेवा लिन सक्नेछन् । तर तरकारी पसलका लागि दिन निर्धारण गर्नु व्यवहारिक नहुने देखिन्छ । तरकारी लामो समयसम्म भण्डारण गर्न कठिन हुने भएकाले दैनिक ल्याउने र बिक्री गर्नुपर्ने हुन्छ । तर तोकिएको दिनमा मात्र बिक्री गर्ने गरी भण्डारण गर्दा सड्ने भए पनि थोक बिक्री गर्नेहरुले पनि किसानबाट नल्याउने गर्दा बजारमा तरकारीको समस्या हुने गरेको प्रष्ट छ । तरकारी बजारको उचित व्यवस्थापन हुन नसक्दा किसानको तरकारी बारीमै नोक्सान हुँदै आएको छ । यही मौकाको फाइदा उठाउँदै केही बिचौलियाले अति नै कम मूल्यमा किसानबाट ल्याएर उपभोक्तालाई महंगोमा बिक्री गर्ने मौका पनि मिलेको छ ।

तरकारीका पसलहरु सबै दिन नखुल्ने हो भने बिचौलियाले मनग्य नाफा लिने र उपभोक्ता तथा किसानहरु भने मारमा पर्नुपर्ने अवस्था छ । बाहिरी जिल्लाबाट तरकारी नआएको र थोक बजार बन्द भएपछि स्थानीय उत्पादन पनि बजारमा नआउँदा अभाव र मूल्यवृद्धि भएको तरकारी व्यापारीको भनाई छ । निषेधाज्ञा हुनुअघि र अहिले तरकारीको मूल्य आकाश जमिनको फरक परिसकेको छ । नियमित तरकारी बेच्न नदिएको अवस्थासँगै तरकारीको मूल्यवृद्वि र अभावले व्यापारी, उपभोक्ता तथा किसान मारमा परेका छन् । किसानले उचित मूल्य पाएका छैनन्, व्यवसायीहरुले बिक्री गर्न पाएका छैनन् भने उपभोक्ताले निकै महंगोमा खरिद गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्नका लागि निश्चित समय निर्धारण गरेर दैनिकरुपमा नै तरकारी खरिद बिक्रीको व्यवस्था मिलाउँदा सहज हुने देखिन्छ ।