१
भारत सरकारको छात्रबृत्ति सहयोगमा बानरसबाट अर्थवेदमा शास्त्री सकाएर गाउँ फर्किएको पण्डित आचार्य बाजेको नाति हरिश्चन्द्र आचार्यले मानसिं बिश्वकर्मालाई गायत्री मन्त्र सुनायो रे भन्ने हल्ला चल्यो । र यो पनि भनियो अब मानसिं बौलाउँछ र त्यस्तै संकेत देखियो-
ठ्याक्कै भनेको दिनमा काम सकाएर आउनाले उसले पाएको ट्यामे बुढाको उपाधि उसैले फिर्ता लियो । अर्जाप्न लगेको हँसिया फिर्ता पठाएन न आयो कुटो र कोदालिको नयाँ अडर नै लिन। यसपाली भुण्टा-भुण्टि लावालस्कर लगाउदै उसकी बुहारी कैली बालि उठाउन पनि आईन।
२
उताबाट उल्कापात हल्ला चल्न थाल्यो- मानसिंले बारिको चिउरिको रुख काटेर वर-पिपल रोप्यो । खुर्सानीको बोट उखेलेर कुश सार्यो । आँगनको खोर भत्काएर तुलसिको मठ बनयो । ब्याउने सुगुर्नी बेचेर श्रीस्वस्थानिको किताब किन्यो । छालाको खँलाति बेचेर राधे-राधेको बर्को किन्यो । आरन भत्काएर पुजा कोठा बनायो । ———– र उस्ले क्रान्तिकारि अभियान चलाउन थल्यो रे।
यता, हजुरआमाको सधै एउटै गुनासो -यि फुट्या कानले के सुन्नु पर्या; यो कलिजुग कत्ति छिट्टै आको । कामिको घरमा रामयण र श्रीस्वस्थानि। खालाँति चलाउने हातमा शंखघण्ट । आफ्नै छोरानातिले कुकुरको गु खाएपछि धर्मको सत्यनास । थुईक्क ! अशक्तिको जात, हे दैब मलाई काल किन आएन।
३
हजुरआमाको गुनासो कत्ति सुन्नु ? एउटै रडाको झोक चलेर आयो अनि पाँच कक्षा पढ्दै गरेको छोरोलाई श्रीस्वस्थानिको व्रतकथा सुनाईदिए । अनि गजब भयो तपशिलको नतिजा
००००००००
-ओए ! अशक्ति डाम्नाको सन्तान के गर्या त्यो ?
-ए बज्यैआमाले आँखा देख्न छाड्नु भएछ आची पुछि राँछु त ।
-स्वस्थानिमाताको पुस्तक च्यातेर गुँ पुस्छन् त मोरा । माताले श्रराप दिन्छिन, अब पाप लाग्छ।
-बज्यैआमा पुनि, त्यहि श्राप दिन्छिन कि भनेर त उनलाई रिस उठाउन खोज्या के
-हेर बौलाको पापिको सन्तान किन उठाउनु पर्यो मातालाई रिस
-माताले श्रापिन भने त म पनि शालिग्राम; तुलसि र पिपल जस्तै भगवान हुन्छु अनि तपाईले चढाको पैसा पनि मेरो प्रसदि पनि मेरो क्या मज्जा ।
४
शंखघण्टले अन्न फलाएन । न त धुपको बासनाले पेट भरियो । रासनको अभावले आतंक मच्चाउन थाल्यो। परिवर्तन नायक कमरेड हरिश्चन्द्रसंगको गोप्य बैठक पछि बिश्वकर्मा मुक्ति मोर्चाले क्रान्तिकारी योजना पारित गर्यो ।
– निर्णायक आन्दोलनको तयारी
-बाहुन वस्तिमा सामुहिक आक्रमण
-लत्ताकपडा र अन्नपात कब्जा
– हसियाँ कुटोकोदलो बन्चरो जस्ता हतियार जफत र बिक्री
-बिश्वकर्माको रगत पनि बाहुनको जस्तै रातो छ भन्ने प्रमाणित गरि समान हैसियत बनाउन मानसिँको कमाण्डमा बैचारिक दस्ता निर्माण
५
बिदेशको अनुभवलाई लिएर छोराले खोलेको सुंगुरफार्ममा हामी थियौ । राम्प्यारीलाई सुत्केरि बेथालागेकोले उसलाई प्रजननगृहमा राखियको थियो । छोरोको अनुभव बोल्दै थियो: “अबको १०-१५ मिनेटमै हाम्रो फर्ममा पहिलो पाठो जन्मिन्छ ।“ त्यतिनै बेला च्याठिदै मानसिं आईपुग्यो:
“थुईक्क सडेको बाहुन हाम्ले छाड्या काम गर्न थल्यौ हैन ? हेर बुद्दि सुँगुर्निलाई परालको गुन्द्री ।“
खुर्पेटोको आवाज बिनाको मानसिंलाई भने “ माने ! हँसिया पो बाङ्गो हुन्छ र खुर्पेटोमा अडिन्छ । तैले त खुर्पेटोमा खुकुरी हालिछस , खसेर खुट्टो काट्ला । “माने गर्ज्यो“ ओ बाहुन बढि पुरान छाट्ट्ने होईन । मुक्ति मोर्चामा खटिएका हामी मिर्त्यु सँग डराउदैनौ । चुपचाप मेरो कुरा सुन्ने: बिश्वकर्मा मुक्तिमोर्चाले यो सुंगुरको खोर कब्जा गर्ने निर्णय गरिसक्यो भोली झण्डा गड्दै छौ । तिमिहरुलाई भाग्ने समय आजको रात मात्र नत्र—–
– माने ! बौलाईस कि क्याहो ?
– माने होईन क्रान्तिकारी मानसिं शर्मा उर्फ कमरेड मुक्ति, अर्को कुरो हाम्रो पनि रगत रातो छ तिमीहरुको जस्तै । बाहुनको जस्तै रगत भएपछि हामि पनि बाहुन हौ । अब बाहुन बस्तिमा बस्ने पालो हाम्रो हो । घर छाड्ने पनि तयारी गर्ने ।हाम्रो मोर्चाले सामुहिक सफाय गर्न नपरोस ।
– लौ माने बौलाएछ । यस्तो पनि हुन्छ ।
– केरे हाम्रो रगत रातो हुदैन रे ! रातो छ रगत रातो छ , रातो
(राम्प्यारीले भ्यात्त पानिमुताउरो खसाली; म त्यता फर्किएछु )
मानसिं चिच्च्यायो “ए सत्य सुन्न नसकेर उता फर्किएको । सत्य यहि । हाम्रो पनि रगत रातो छ । तिमिहरुको जस्तै रातो छ रगत ।“ मानसिं आफ्नै नियन्त्रण बाहिर थियो ।मौन बस्नुको अर्को विकल्प थिएन ।उ झनै आवेसमा चिच्याउन थाल्यो “नपत्त्याएको । पत्त्याएनौ । साच्चि नपत्त्यएको । देखाईदिउ । ल हेर ।“ -उसले खुर्पेटोबाट खुकुरी झिक्यो र आफ्नै घाँटि सेर्यो र छ्वाल्ल रगत बगाउदै भुक्लुक्क लड्यो । यता राम्प्यारीले पाठो पाई । कस्को हो छुट्ट्याउनै नसक्नेगरि रगत मिसियो र बग्यो ।
मेरा खुट्टा लगलग काप्न थाले । थचक्कै बसे । मनमनै भने “ बिस्तारै बग्नुपर्ने चेतनाको खोलोमा अचानक सुनामि आयो । थुक्क ! उग्र क्रान्तिकारी चेतना ।“
६
क्रान्तिकारी मोर्चाले शंख फुक्यो: ‘कमरेड मुक्तिको घाँटि रेटेर हत्या गरियो र उनको सबलाई सुँगुरको खोरमा फालियो।‘ प्रतिसोधको आगो दन्कियो । गाउमा बसी सक्नु भएन । हामी रातारात राजधानीतिर भाग्यौ । सक्ने भागे नसक्नेहरु कति त घरगोठसँगै उतै खरानि बने।
७
जातिय पहिचानको कुरो लिएर एन्जिओ आईएनजीओ गाउ छिरे । बिश्वकर्मा बस्तिलाई आरन मुक्त क्षेत्र घोषणा गरियो । जिवन बाँच्ने कला सिकाईयो। खोलाको बालुवा ,बगरको ढुङ्गा र बारीको माटोमा पैसा खानि खुले । जङ्गलको रुखसङ्ग भिसा साट्न पाईने भो । युबाहरु बिदेसिन थाले । छोरी बुहारिको बजार भाउ स्वत्तै बढ्यो। केहि नहुनेले मिर्गौलाको पनि मुल्य पाए। जातिय पहिचान तिब्र गतिमा अघि बढ्यो । चोक चौतारो यसरी गफालय बने:
– धनजिते कुवँर कुजात भो । अब त्यसको पानी बार्नु पर्छ ।
– किन
– उसले पल्लो गाउको सार्कीको घरमा गोरस र मकै खाएछ ।
– लु त्यस्को जात खसी गो नि ।
– त्यहि त भन्या –हामी भन्दा दलित भो त्यो । त्यसले छोएको पानी चल्दैन अब ।
८
झण्डै १५ वर्ष पछि काम बिशेषले जिल्ला सदरमुकाम पुगेको बेला संयोग जुरेछ । मानसिंकि बुहारिलाई सदरमुकाम मै देखे । सुसुप्त अवस्थामा रहेको गाउको न्यस्रो ह्वात्तै बढेर आयो। उसको पछि लागे।
०००००००
– उसले एउटा पसलमा डाल्डा घिउ र अण्डा किनि । अर्को पसलमा दालमोठ , मकैको पिठो र डिब्बावाला अचार किनि । उ अर्को, अर्को र अर्को पसलमा छिर्दै किन्दै गरी । एउटा औषधि पसलमा फिस्स हाँसेर खास्-खुस गरि र खै के हो कुन्नि किनेर सिधै एउटा ठुलो हार्ड्वेयर पसलतिर हिडी । ०००००००
हार्ड्वेयर पसलमा सानोतिनो मेला लागेको जस्तै थियो । ओहो ! मानसिं खलक नै देखा पर्यो :
मानसिंको छोराले फलामको कराई जोख्दै थियो । मानसिंउसको भतिजो कोदलि र वेल्चा लिएर गोदामबाट बाहिरियो । एउटी केटि काकि यो धारिलो छ भन्दै छुरि छान्दै थिई । मानसिंकि बुढि साच्चिकै बुढि भैइछे । सुर्ती माडेर नयाँ खुल्पिमा हाल्दै थिई । १०-१५ बर्ष पछिको कुरो- कतिलाई त चिनिन। धेरै नै थिए । पसलमा काम गर्नेहरुलाई भ्याई-नभ्याई थियो ।काउन्टरमा परिचित अनुहार नै देखियो । मेरा आँखा पसल माथि झुन्डाईएको होर्डिङबोर्डमा परे।
ठुलो अक्षरमा लेखिएको थियो:
भारतको मल्टिनेश्नल कम्पनि टाटाको अधिकृत बिक्रेता
—– जनता हार्डवेयर एण्ड सप्लायर्स —-
प्रो: हरिश्चन्द्र आचार्य