जमुना थिङ

एक वर्षअगाडि चीनको वुहान शहरबाट कोरोना भाइरस संक्रमण सुरु भएको हो । अहिले देशभर नयाँ प्रकारको कोरोना भाइरस संक्रमणको रुपमा तिव्र गतिमा फैलिएको अवस्था छ । भारतमा अरु देशको तुलनामा बढ्दो छ, मुत्यदर र संक्रमण । पहिलो लहरको रुपमा संक्रमणदर सय नपुग्दै राहत दिलाएको अवस्था थियो । अहिले मृत्युले हजारौं नाघेको अवस्था छ, नेपालमा । तर, खोई त राहत ? जुन वडा होस् या सामाजिक अभियन्ता, राहत बाँढ्दा घर र जग्गा हेरेर दिने प्रचलन छ ।

कोरोनाको पहिलो लहरको समयमा हेटौंडा १२ नम्बर वडाले बाँढेको राहतमा त्यस्तै गुनासो आएको थियो र सत्य पनि हो । यदि गाउँघरमा विहान बेलुका छाक टार्न भनि ज्यालामजदुरी गरेर खाएको अवस्था छ । विडम्बना स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय हुन नसक्दा या नचाहेर राहतको थालनी हुन सकेको छैन । बजारमा मागेर खाइरहेका व्यक्तिहरु छन् । कोरोना संक्रमणको दर बढिरहेकै बेलामा मागेर गुजारा गर्नेहरु भेटिनुले राहतको आवश्यकता देखिएको छ । निषेधाज्ञाको अवस्थामा मुख्य बजार क्षेत्रमै माग्न बसेको भेटिनुले कतिपय गरिब र निमुखाको वास्तविकता उजागर भएको छ ।

केही दिनअघि सीमाचोकको सडक पेटीमा माग्न बसेको अवस्थामा भेटिएकी ५० वर्षीया पिरमाया चौधरी हुन् वो मागेर बिहान बेलुकाको छाक टारिरहेका शारीरिकरुपमा अशक्त राजकुमार प्रजा हुन्, उनीहरुको पीडा एकै खालको छ । शारीरिक श्रम गर्न नसक्दा र आम्दानीको कुनै माध्यम नहुँदा मागेरै खानुपर्नेलाई अहिलेको निषेधाज्ञामा बिहान, बेलुका छाक टार्नका लागि राहतको व्यवस्था हुनुपर्ने होइन र ? यस्तै, सडक पेटी तथा बसपार्क वरपर गीत गाएर केही आम्दानी गर्ने दृष्टिविहीन आइतेसिंह घलानको अवस्था अहिले के होला ? प्यारालाइसिसबाट ग्रस्त ७७ वर्षका शेरबहादुर ठकुरीको दैनिकी पनि पक्कै अप्ठेरोमै होला ।

राप्तीको बगरमा बस्ने सुष्मा राजथलालगायत सुकुम्बासीहरुलाई पनि लामो समयदेखिको निषेधाज्ञाले छाक टार्न गाह्रै परिरहेको होला । दैनिक ज्याला मजदुरी गर्ने, अरुको भारी भोकेर छाक टार्ने, यातायातका साधनहरु चलाउने, सडक पेटीमा जुत्ता सिलाउनेलगायत मानिसका परिवारलाई अहिले विहान बेलुकाको छाक टार्न समस्या परेको हुनसक्ने कुरालाई सरकारले विचार गर्नुपर्दैन र ?

देशले समृद्ध नेपाल र सुखी नेपाली अभियानको सपना बोकेको छ । मकवानपुरमा ७८ प्रतिशत संक्रमण दर नाघेको स्थिति छ । जुन खतरापूर्ण अवस्था आंकलन गरिएको छ । डब्लुएचओले यदि महामारीले विकाराल रुप लिए संकटमा पर्ने अवस्था आउने जानकारी दिएको छ । विडम्बना, रोगले भन्दा भोकले मर्ने परिवारका सदस्यहरु नेपालमा बढि छ । कयौं रोजगारविहीन बनेका छन् । कोरोनाको भ्याक्सिनबाहेक औषधी बनेको छैन । श्वासप्र्रश्वासमा समस्या आए अक्सिजन दिएर बाँच्न सहयोग गर्नुपर्ने अवस्था छ ।

तर, त्यही अक्सिजन पनि सहजै पाइरहेको छैन । सञ्चार माध्यममा यति संक्रमित र यति मृत्यु बढे भन्ने कुरा सुन्दा कत्तिको त मन र मस्तिष्कमा नै कोरोना लाग्यो कि भन्ने अवस्था छ । मकवानपुरको राक्सिराङजस्तो विकट क्षेत्रमा पनि निषेधाज्ञा जारी छ । प्रायः मान्छे भोकले मर्ने अवस्थाका छन् । अरु बेला पनि छाक टार्न नसक्ने समुदायका मानिसले कसरी जीविकोपार्जन गर्दैछन् होला ? लाग्छ सम्पूर्णलाई निषेधाज्ञा नै कोरोनाबाट बच्ने उपाय हो ।

गरिबी तथा न्यून वर्गका मानिसहरुलाई पिरोलेको छ, कोरोना भइरसले होइन खाना नपाएर तथा पेट भर्न गाह्रो भएर । बाँच्नु सबैभन्दा ठूलो हो भनेर निषेधाज्ञा लगाएको अवस्थामा खान नपाएर मानसिक तनाव भई मर्न बाध्य बनाउनु ठूलो अपराध हो । जसकारण पसल बन्द गरेर, काममा बन्धक बनाएर, शिक्षालाई तल पारेर कोरोना संक्रमित कम त होला, तर त्यसले व्यक्तिको जीवनमा पारेको नकारात्मक प्रभावले सयौं वर्ष पिरोल्छ । त्यसैले निषेधाज्ञा गरेको अवस्थामा विहान बेलुका छाक टार्न नसक्नेहरुलाई राहतको व्यवस्था गरौं । सम्बन्धित सरोकार निकायको ध्यानाकर्षण भई तत्काल जुटौं, राहत व्यवस्थापनमा ।