ज्यालादारीमा काम गरिँदै मजदुरी श्रमिकहरु ।

हेटौंडाः मकवानपुरको चार स्थानीय तहमा अघिल्लो सोमबारदेखि निषेधाज्ञा जारी छ । भोलि शनिबारबाट जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ । जिल्लाभर अति आवश्यकबाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालयको सेवा बन्द भएको छ । कोभिड–१९ को दोस्रो लहर व्यापक बन्दै गएपछि सृजना भएको महामारीमा हेटौंडा उपमहानगरपालिकाका अधिकांश मानिसहरु घरमै सुरक्षित बसेका छन् । तर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्नेहरु भने ढुक्कले काम गरिरहेका छन् ।

सरकारले निर्माण क्षेत्र सञ्चालन गर्न दिएको छ । रोगसँग डर छैन, बरु भोकसँग छ भन्दै काम गरिरेहेका छन्, हेटौंडा–१ का रामप्रसाद दाहाल । उहाँले ज्यालादारी काम गरेर दैनिक आठ सय रुपैयाँ कमाउनुहुन्छ । तर यतिले उहाँलाई पुग्दैन । घर बनाउन ऋण लिएको सहकारीलाई १४ हजार रुपैयाँ मासिक किस्ता बुझाउनुपर्छ, उहाँले । ‘बिहान बेलुका छाक टार्न तथा ऋण तिर्नका लागि भए पनि काम त गर्नैपर्‍यो’, दाहालले भन्नुभयो ।

उहाँले अहिले कोभिडले संसार डराइरहेको तर आफूलाई त्यस्तो केही नलागेको बताउनुभयो । ‘मास्कबिना काम गरिरहेको छु । हाम्रो काममा मास्क लगाएर गर्दा उकुसमुकुस हुन्छ’, दाहालले भन्नुभयो । उहाँ साबेलले बालुवा डोकोमा भरिदिनुहुन्छ । डोको बोक्नुहुन्छ, पार्वती थापाले । उमेरले ४० वर्ष हुनुभएकी थापा परिवार पाल्न मजदुरी गर्न आएको बताउनुहुन्छ । ‘अहिलेसम्म त काम पाएका छौं, अब के हुन्छ कुन्नी ?’, उहाँ गम्भीर हुँदै चिन्ता व्यक्त गर्नुहुन्छ ।

‘दिनभरी काम गरेको हुन्छु, घर पुग्दा थकाई लागेको हुन्छ । के को कोरोना ?’, थापा भन्नुहुन्छ । दिनभर काम गर्दा उहाँले पनि पुरुषसरह आठ सय रुपैयाँ ज्याला प्राप्त गर्नुहुन्छ । यसैगरी निषेधाज्ञामा विद्यालय बन्द हुँदा बिदाको समयको सदुपयोग गर्न मजदुरी काम गर्नुहुन्छ, राहुल अन्सारी । पाँच कक्षामा पढ्ने उहाँ पनि साबेल चलाउनुहुन्छ । दैनिक ११ सय रुपैयाँ पाउने गरेको अन्सारीले जानकारी दिनुभएको छ । विद्यालय बन्द हुँदामात्रै काम गर्न आउने गरेको अन्सारीको भनाई छ ।