मकवानपुर जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरिँदै प्रहरी ।

हेटौंडाः मकवानपुर जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने एक सय ५६ वटा सवारी साधनको कागजपत्र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको सवारी चेकिङको क्रममा अनावश्यकरुपमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका एक सय ५६ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकल/स्कुटर, अटो, सानो गाडी, बस, ट्रक आदि सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको सवारीसहित निषेधाज्ञा उल्लंघन गर्ने सवारी धनी एक सय १८ जनालाई भने संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको उहाँले बताउनुभयो ।

मकवानपुर प्रहरीले स्वास्थ्य सावधानी नअपनाउने मानिस, निषेधाज्ञामा अटेर गरी पसल खोल्ने व्यापारी, निषेधाज्ञा उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीलाई नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ । अहिलेसम्म प्रहरीले २ हजार ४ सय ५१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभएको छ ।

मास्क नलगाउने व्यक्ति तथा सवारी साधनका धनीहरु ५० हजार भन्दा बढीलाई कोभिड–१९ को बारेमा जानकारी दिई सम्झाई बुझाई गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । मास्क नलागाउने ५ सय २८ जना व्यक्तिलाई भने जनही एक सय रुपियाँ जरिवानासहित कारवाही गरेको उहाँले बताउनुभयो । निषेधाज्ञामा अटेर गर्दै हिँड्ने २४ जना व्यक्तिलाई होल्ड गरी सय रुपियाँ जरिवानासहित कारबाही गरिएको रिमालले जानकारी दिनुभएको छ ।