पीरमाया चौधरी ।

हेटौंडाः अहिले सबैतिर कोभिड–१९ को दोस्रो संक्रमणको त्रास बढिरहेको छ । सरकारले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । त्यतिमात्र नभएर धेरै ठाउँमा निषेधाज्ञा नै लगाइएको छ ।

मकवानपुर जिल्लामा पनि हेटौंडा उपमहानगरपालिकासहित चारवटा स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको आदेशबाट निषेधाज्ञा लागेको छ । अत्यावश्यकबाहेकका यातायात तथा बजार बन्द छ । निषेधाज्ञाले बजार पूर्णरुपमा बन्द गरिए पनि मागेरै दैनिक गुजारा गर्नुपर्नेले सडक पेटी छाड्न सकेका छैनन् ।

देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त गर्ने अभियानअन्तर्गत् मकवानपुरलाई करिब दुई वर्षअघि नै सडक मानवमुक्त जिल्ला घोषणा गरिए पनि हेटौंडाका सडकपेटीमा मागेर जीवनयापन गर्नेको कमी छैन । कोरोना संक्रमणको जोखिम व्यापक बन्दै जाँदा र सरकारले लकडाउन गर्दासमेत मंगलबार हेटौंडा बजारको सडकमा माग्न बसेको अवस्थामा भेटिनुभयो, पीरमाया चौधरी ।

हेटौंडा–१० स्थित न्यूरेनीमा छाप्रोमा बस्दै आउनुभएकी ५० वर्षीया चौधरी निषेधाज्ञाकै बीचमा बजारको सीमाचोक आपसपासमा मागेर बस्नुभएकी हुन् । ९ वर्षअघि श्रीमानको मृत्यु भएपछि सहाराविहीन भएकाले मागेर दैनिक गुजारा गर्नु आफ्नो बाध्यता रहेको चौधरीले बताउनुभयो ।

‘श्रीमानकोे मृत्यु भएपछि कसैको पनि सहारा भएन’, चौधरीले भन्नुभयो– ‘पहिला श्रीमानले प्लाष्टिकको भाँडाकुँडा बेचेर बिहान बेलुकाको छाक टार्ने गर्नुहुन्थ्यो ।’ आफ्नो स्थायी घर बाँके जिल्लाको नेपालगञ्जदेखि हेटौंडा आएर बसेको चौधरीले बताउनुभयो । आफ्ना दुईजना छोरीहरु भए पनि उनीहरुले आफूलाई नहेरेको चौधरीको भनाई छ ।

‘छोरीहरुको विवाह भएपछि उनीहरु ज्वाईंसँग बस्न गए’, चौधरीले गुनासो गर्दै भन्नुभयो– ‘उनीहरुको आसपासमै बस्न खोज्दा छोरी ज्वाईं दुबैले वास्ता नगरेपछि मागेरै ज्यान पाल्ने गरेको हुँ ।’ छोरीहरुको विवाह भएपछि उनीहरु पराईसरह बन्दा दुःख लागेको चौधरीले बताउनुभयो । ‘छोरीहरुमात्र भएका भए त आफूलाई पनि सँगै राख्थे होला, ज्वाईंका कारण आफ्नै छोरी पनि पराईजस्तै बनिन्’, चौधरीले भन्नुभयो– ‘खेतबारीको काम गर्न नसक्ने भएपछि पेट पाल्नलाई नमागी सुखै भएन ।’

माटोकै भाँडाकुँडा बिक्री गरेर आफ्नो जीवनयापन गरिरहेका छोरीज्वाईंले बेवास्ता गर्दा चौधरीले छोराको आवश्यकता महसुस गर्नुभयो । ‘सायद छोरा भएको भए अहिले आफूले यसरी माग्न बस्न पर्दैन थियो होला’, चौधरीले भन्नुभयो– ‘छोरीहरु त विवाह गरेपछि पराईका हुँदारहेछन् ।’ कुनै काम गर्न नसक्ने र आम्दानीको अन्य स्रोत नभएपछि लकडाउनमै पनि माग्न बस्नुपरेको बाध्यता रहेको उहाँले बताउनुभयो ।

चौधरीजस्तै मागेर जीवनयापन गरिरहेका धेरै मानिसहरु गाउँ, शहर जताततै भेटिन्छन् । शारीरिक तथा मानसिक असक्तता एवम् परिवारका सदस्यहरुले बेवास्ता गर्ने गरेकै कारण धेरै मानिस सडकमा मागेर बाँचिरहेका छन् । धनीमानीको बसोबास हुने, एकैठाउँमा बसेर माग्दा पनि दैनिक २–४ सय कमाई हुने भएपछि माग्नका लागि गाउँभन्दा शहरलाई रोज्ने गरेको पाइन्छ ।

वि.सं २०८२ सालभित्र सरकारले देशलाई नै सडक मनावमुक्त बनाउने लक्ष्य लिएको भए पनि सडकमा चौधरीजस्ता थुप्रै मानिसहरु माग्दै हिँडेका छन् । कोभिडका बेला श्रम गरेर खाने श्रमजीवीको पनि बिहान र बेलुकाका छाक टार्न समस्या भइरहेको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सफल पार्न सहयोगापेक्षी सडक मनावमुक्त अभियानलाई सार्थक पार्न सम्बन्धित सरकारको ध्यानकर्षण हुनु अवश्यक छ ।