राजनीतिक अधिकारका लागि अन्तिम लडाईं भनिएको जनआन्दोलन भाग–२ सफल भएको पनि १५ वर्ष भएको छ । ज्ञात अज्ञात शहीदको बलिदानी, घाइते योद्धाहरुको समर्पण तथा लाखौं नागरिकको सहभागितामा भएको आन्दोलनका अघि तत्कालीन शासकले घुँडा टेकेको दिन ठूलो विजय हात लागेको अनुभूति भएको थियो । सोही आन्दोलनका अगुवाहरुले आजसम्म सत्ता सञ्चालन गरेका छन् । तर त्यस दिनको विजय उत्सव आज कायम छ त भन्ने प्रश्न उठेको छ । विगत शासनकालमा भन्दा राम्रो नगरे पनि नबिगारिदिएको भए सन्तोष गर्ने ठाउँ हुनेथियो । तर सबैतिर भत्कँदै र बिग्रँदै गएको अवस्था छ । घाइते, अपांगता भएकाको अवस्था उस्तै छ भने नागरिकको दैनिकीमा फरक परेको छैन । दैनिक ज्याला, मजदुरी गर्नेदेखि गरिबीको रेखामुनीका समुदायलाई लोकतान्त्रिक गणतन्त्रले के दियो ? यसको जिम्मेवारी कस्ले लिने ?

अढाई सय वर्ष पुरानो राज्यसत्ता भत्काएको दिनलाई समेत बिर्सने अवस्था बनेको छ । सत्ताधारीहरुले यो दिनलाई कुनै महत्व नै दिएका छैनन् । त्यस्तै विपक्षीहरुले पनि लोकतन्त्र प्राप्तिको ऐतिहासिक दिनलाई कहीँ कतै स्मरण गरेनन् । औपचारिक वा अनौपचारिक कुनै कार्यक्रम भएको पाइँदैन । सरकारका तर्फबाट बैशाख ११ गते महत्वहीन देखियो । धरहराको उद्घाटन भयो तर बैशाख ११ गतेलाई स्मरण गर्ने सरकारले आवश्यकता नै ठानेन । भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिइयो तर, लोकतन्त्र हुँदै गणतन्त्रका लागि ज्यान आहुती दिएका वीर योद्धा नेपाली आमाका अमर शहीदलाई शब्दले समेत स्मरण गर्न आवश्यक नठान्नु जनआन्दोलन भाग दुईलाई बिर्सन खोजेको हैन र ?

दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धीमध्ये वर्तमान संविधान र त्यसले दिएको अधिकार नै हो । तर ती अधिकार संविधानको किताबमा मात्र सिमित भएका छन् । जनताले आफ्ना अधिकार स्वतन्त्रपूर्वक उपयोग गर्न पाउने वातावरण अझै छैन । स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता मुलभूत विषयमा संविधानले अधिकार सुनिश्चित गरिदिएको छ । तर आधारभूत अधिकारबाटै नागरिक वञ्चित भइरहेका छन् । संविधानको कार्यान्वयन गर्नुपर्ने पक्षबाटै उल्लंघन भइरहेको छ । जनबलबाट बनेको संविधानलाई निष्प्रभावी बनाउने प्रयासमा दलहरु नै लागेका त छैनन् भन्ने प्रश्न उठेको छ । जनताका आवश्यकतालाई बिर्सिएर दलहरु सत्ताको खेलमा लाग्दै गर्दा उपलब्धी प्राप्त भएको दिनलाई समेत बिर्सिएका छन् । सत्ताका लागि यो भन्दा अर्को भद्धा खेल के हुन सक्छ ।

महान बलिदानीबाट संघीय लोकतान्त्रिक नेपालले १५ वर्ष पार गर्दै गर्दा जनआन्दोलनको उद्देश्य पूरा हुनेतर्फ के के काम भए भन्ने कुराको समीक्षा हुन आवश्यक छ । राजतन्त्र फाल्दै गर्दा देखाइएका सपनाहरु कहाँ र के कारणले पूरा हुन सकेका छैनन् । नेतृत्वले कमजोरी गरेको हो भने त्यसलाई सच्याउने तत्परता उनीहरुसँग हुनुपर्दछ । नागरिक तहबाट आन्दोलनको उद्देश्य पूरा गर्ने क्रममा असहयोग भएको वा विरोध तथा अवरोध भएको भए त्यसलाई सत्तामा बसेकाहरुले औंल्याउन सक्नुपर्दछ । नत्रभने लोकतन्त्र ल्याउने जनता र त्यसको भोग निश्चित वर्ग र समुदायले मात्र गर्दछ भने जनता फेरि आन्दोलनका लागि अगाडि आउन बाध्य हुनेछन् ।