अहिले नेपालमा सुख्खा मौसम छ । सुख्खा मौसममा वनमा डँढेलो लाग्नु हरेक बर्षको सामान्य विषय जस्तै हो । तर, यस बर्ष देशभरका वनमा लागेको डँढेलो व्यापक बनेको छ । डँढेलोका कारण वन र वन्यजन्तु जोखिममा परेका छन् । पछिल्लो केही दिनदेखि मकवानपुर जिल्ला पनि डँढेलोको चरम मारमा परेको छ । डँढेलो हरेक बर्ष हुने दुर्घटना भए पनि यस बर्षको डँढेलोले ठूलो क्षति पुर्याएको छ । डँढेलो कै कारण प्रदुषण बढेको भन्दै सरकारले मंगलबारदेखि ४ दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय समेत गरेको छ ।
डँढेलोको प्रकोप र त्यसबाट सिर्जित समस्याप्रति आम रुपमा निक्कै चिन्ता व्यक्त गरिन थालेको छ । अधिकांश डँढेलोको कारण मानवीय नै भएको सरोकारवालाको ठम्याई छ । विशेषगरी वन क्षेत्रमा नयाँ घासको पालुवा छिटो आउने अपेक्षामा वन क्षेत्र नजिककै नागरिकबाट आगो लगाइदिँदा डँढेलो लाग्ने गरेको भनाइ छ । समुदायको नियमित रेखदेखमा रहने भनिएको सामुदायिक वनमा पनि भयानक स्वरुपमा डँढेलो लागेको छ । डँढेलोसँगै हेटौंडा नगर आसपासका वन क्षेत्रमा वन्यजन्तुको मृत्युका घटना पनि बढेका छन् । वन र वन्यजन्तु दुवैमा क्षति पुगेको विषयमा आम रुपमा चिन्ता व्यक्त गरिए पनि मुख्यतः राज्यका निकायहरुको ध्यान जान नसक्नु अर्को चिन्ताको विषय बनेको छ ।
वन क्षेत्रको डँढेलो नियन्त्रणमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय, स्थानीय सरकारको ध्यान जान सकेको छैन । अझ मकवानपुरको सन्दर्भमा प्रदेशको राजधानी समेत रहेकोले प्रदेश सरकारको समेत ध्यान नजानु अझ गम्भीर विषय बनेको छ । वन क्षेत्रसँगै वन्यजन्तुको मृत्युको विषय पनि गम्भीर छ । विशेषगरी हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसर, हेटौंडा–२ वनस्खण्डीक्षेत्र, हेटौंडाको पदमपोखरी, चुरियामाईक्षेत्रमा पनि वन्यजन्तुको दुर्घटनामा मृत्यु हुनुका साथै अवैध चोरी शिकारीको जोखिम समेत रहेको छ । वन विज्ञान क्याम्पस परिसरमा पछिल्लो समय वन्यजन्तुको मृत्युका घटनाप्रति विद्यार्थीले चिन्ता व्यक्त गर्दै राजमार्ग नै अवरुद्ध गरे ।
वन विज्ञान क्याम्पस परिसरको जंगलमा चित्तल, मृगको वासस्थान समेत भएकोले त्यस क्षेत्रको सुरक्षामा वनसम्बद्ध सरकारी कार्यालय मात्रै नभएर स्थानीय सरकारले पनि ध्यान दिनु आवश्यक छ । स्थानीय सरकारको रुपमा हेटौंडा उपमहानगरपालिकाले वन विज्ञान क्याम्पससँगै नगरक्षेत्रमा सार्वजनिक तथा सामुदायिक वनको संरक्षणमा ध्यान दिएर विशेषगरी वन्यजन्तु भएको स्थानलाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकसित गर्न सक्ने हो भने वन र वन्यजन्तुको संरक्षणसँगै आर्थिक क्रियाकलापको अवसर समेत बन्न सक्नेछ । जसले आर्थिक क्रियाकलापबाट स्थानीय समुदायले समेत लाभ लिन सक्नेछन् । छिमेकी जिल्ला चितवनको सौराहाले गैंडा संरक्षणमा देखाएको चासोले सौराहा र चितवनले मात्रै नभएर सिंगो देशले नै पर्यटनमार्फत लाभ लिइरहेको दृष्टान्त छ । यसर्थ वन र वन्यजन्तुको नास भइरहेका बेला सरोकारवाला निकाय, स्थानीय र प्रदेश सरकार बेखबर रहने नभई यो जोखिमको मूल्यांकन गरेर वन र वन्यजन्तुलाई अवसरको रुपमा आत्मसात गर्न सक्नुपर्छ । वन र वन्यजन्तु बचाउन अग्रसर हुनुपर्छ ।