हेटौंंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती युवा क्लब सर्लाही सेमिफाइनल प्रवेश गरेको छ । बागमती–८ स्थित जनता माविको खेलमैदानमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ गोलले पराजित गर्दै बागमती युवा क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
बागमतीलाई जित दिलाउन स्टेफेन समिरले खेलको २७ औं मिनेटमा गोल गरे । विमल घिसिङले खेलको ३२ औं र म्याक्सवेलले खेलको दोस्रो हाफको ११ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच बागमतीका विमल घिसिङ घोषित भए । अब बागमतीले २१ गते थ्री स्टार क्लब ललितपुर र एपीएफ क्लबबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
यस्तै, हिमालयन शेर्पाका तर्फबाट बसन्तमान राईले खेलको दोस्रो हाफको तेस्रो र सुजन थापाले दोस्रो हाफको १५ औँ मिनेटमा गोल गरे । दुई गोल गरेपनि खेललाई बराबरीमा ल्याउन भने हिमालयन शेर्पा असफल रह्यो । हारसँगै हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार जावलाखेल क्लब र नवजनजागृति युवा क्लब सिमराबीच सेमिफाइनल प्रवेशका लागि खेल हुनेछ । यसअघि नै अफ्रिकन रुट्स सेमिफाइनल प्रवेश गरिसकेको एन्फा रेफ्री अकिललाल श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको फाइनल खेल चैत २३ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ८ लाख रुपैयाँ पाउनेछ । उपविजेता हुने टिमले नगद ४ लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।