जमुना थिङ, ७७ वर्षका शेरबहादुर सिंह ठकुरी ।

हेटौंडाः भूटनदेवी माध्यमिक विद्यालयको गेटमा सुरक्षाका लागि खटिने व्यक्ति हुन्, ७७ वर्षका शेरबहादुर सिंह ठकुरी । २०६६ सालदेखि स्कूलमा मासिक ४ हजार रुपैयाँबाट काम गर्न सुरु गर्नुभएको ठकुरी २०७१ सालमा प्यरालाइसिस रोगको शिकार बन्नुभयो । प्यारालाइसिस भए पनि अझै सक्ने काम गरिरहेको ठकुरीले बताउनुभयो ।

शान्तिदेवी ठकुरीको कोखबाट जन्म लिनुभएका ठकुरीका बुवा मानबहादुर पनि प्यारालाइसिसबाट ग्रस्त हुनुभएको थियो । बुबा प्यरालाइसिस रोगबाट ग्रस्त भएपछि कक्षा ५ मै पढाई छाड्नुपरेको दुःखेसो गर्नुहुन्छ, शेरबहादुर । सानैदेखि शिक्षाको महत्व बुझेको भए पनि पढ्न नसकेकोमा ठकुरीले चिन्ता व्यक्त गर्नुभयो ।

सानैदेखि ज्याला मजदुरीसँगै अन्य काम पनि गरेर संघर्षमा हुर्कनुभएका शेरबहादुले बुबा बिरामी भएपश्चात् परिवारको खर्च धान्न कमाई गर्नतिर लाग्नुपरेको बताउनुभयो । भारतमा जन्म भएपनि नेपालमा आएर काम गर्दा धेरै दुःख बोक्नु परेको र अन्यायसमेत सहेर यहाँसम्म आइपुगेको बताउनुहुन्छ ठकुरी ।

पढेका व्यक्ति र नपढेका व्यक्तिमा धेरै भिन्नता हुनुका साथै समाजले समेत फरक व्यवहार गर्ने गुनासो ठकुरीको छ । पढेको व्यक्ति र नपढेको व्यक्तिमा समाजले फरक व्यवहार देखाउने भएकाले पढाइ अति नै आवाश्यक रहेको उहाँले बताउनुभयो ।

शेरबहादुरका श्रीमती बोदकुमारी सिंह ठकुरी भूटनदेवी माविमा नर्सरीका बालबालिका हेरविचार गर्ने र स्कूलको सरसफाई गर्ने काम गरिरहनु भएको छ । उहाँले विद्यालयबाट मासिक १० हजार पारिश्रमिक पाइरहनुभएको हुँदा यहीबाट जेनतेन खर्च टरेको बताउनुहुन्छ, शेरबहादुर । शेरबहादुरको दम्पत्तिलाई अहिलेसम्म विद्यालयले नै आश्रय दिइरहेको छ ।

बिरामी भएर काम छाड्नु भएका शेरबहादुरले धैरै उपचार गरे पनि निको हुन नसकेको बताउनुभयो । शरीरको एकापट्टिको भाग नचल्ने अवस्थामा पुग्नुभएका शेरबहादुरले एउटा आँखा पनि देख्न छाड्नुभएको छ । आँखाका सार्थ एकापट्टिको हात, खुट्टा पनि नचलेपछि काम गर्न नसकेकै कारण आर्थिक अवस्था पनि कमजोर बन्न पुगेको छ ।

शेरबहादुरका एक छोरा र दुई छोरी हुनुहुन्छ । ४० वर्षका छोराले पनि कक्षा ७ सम्म अध्ययन गरेर पढाइ छाड्नुभएको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै पढाइको महत्व बुझाउन नसक्दा छोराले पढाइ छाडेको शेरबहादुरले बताउनुभयो । अहिले छोरा पनि मुटु, फोक्सो, मृगौलालगायत रोगबाट ग्रस्त बनेको शेरबहादुरले बताउनुभयो । उहाँले आफ्नो र छोराको थप उपचार गर्न सहयोगको अपेक्षा गर्नुभयो ।

शेरबहादुरका दुई छोरीले विवाह गरिसक्नुभएको छ । जेठी छोरीले भाइबहिनी हेर्नुपरेका कारण नपढेको र कान्छी छोरी कक्षा १० सम्म अध्ययन गरेर विवाह गरेको उहाँले बताउनुभयो । नपढेपछि दुःख पाइने रहेछ भन्ने कुरा अहिलेका सबै बालबालिकाले बुझ्नुपर्ने शेरबहादुर बताउनुहुन्छ । पढ्ने व्यक्तिको छुट्टै शान बढ्नुका साथै आफ्नो खुट्टामा आफैं उभिन सके कसैले हेप्न नसक्ने भएकाले अहिले बालबालिकालाई विवाह गर्नुभन्दा पहिला उच्च शिक्षा हासिल गरेर आफ्नो खुट्टामा उभिन शेरबहादुरले आग्रह गर्नुभयो ।