विश्वकै लोकप्रिय खेलमध्ये फुटबल अग्रस्थानमा पर्छ । सामान्य ज्ञानकै भरमा पनि हेर्न, बुझ्न र मनोरञ्जन लिन सक्ने खेलहरुमा फुटबल नै हो । यही सरल विशेषताकै कारण विश्वमै लोकप्रिय बनेको हो । आम नागरिकले मनपराउने भएकाले पनि होला प्रतियोगिताहरु पनि धेरै नै हुने गर्दछन् । जुनसुकै संस्था वा समूहले आयोजना गर्दा रोजिने विधा नै फुटबल हो ।

फुटबल जति लोकप्रिय छ, व्यवस्थापन गर्नका लागि त्यति नै खर्चिलो हुने भएकाले व्यवस्थित प्रतियोगिता गर्न सामान्य खर्चले समेत पुग्दैन । निकै ठूलो धनराशि खर्च हुने भए पनि अन्य खेलको तुलनामा लगानीकर्ताहरुको पनि आकर्षण छ । यही मान्यताका कारण विश्व खेल क्षेत्रमा फुटबल विशेष चर्चामा छ भने लगानी पनि बढ्दै गएको छ ।

नेपालमा राष्ट्रिय खेलकुद परिषद खेल क्षेत्रको उपल्लो निकाय हो । औपचारिक राष्ट्रिय प्रतियोगिताहरु यही निकायबाट सञ्चालन हुने गर्दछन् । तर पछिल्लो समय स्थानीय तहदेखि विभिन्न संस्थाहरुबाट पनि खेलकुद गतिविधि हुँदै आएको अवस्था छ । त्यसमध्ये पनि सबैको रोजाई फुटबल नै देखिन्छ । स्थानीय तहहरुले पनि खेल गतिविधिलाई महत्व दिएका छन् । युवासँग प्रत्यक्ष सरोकार राख्ने विधा भएकाले खेल क्षेत्रले प्राथमिकता पाएको देखिन्छ । तर खर्च अभावमा प्रतियोगिताहरु औपचारिकतामा मात्र सिमित हुने अवस्था बन्दै जाने खतरा पनि छ । लगानी ठूलो हुने तर गनिने र देखिने नतिजा नहुँदा लगानी गर्न स्थानीय तहहरु कति उत्साहित हुने भन्ने चुनौती देखिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले विगत चार वर्षदेखि मेयर कप फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको छ । नगरभित्रका खेलाडीको क्षमता अभिबृद्धि तथा खेलाडी उत्पादनको मुख्य उद्देश्यबाट प्रतियोगिता सुरु भएको देखिन्छ । यस वर्ष पनि मेयर कप फुटबल सम्पन्न भयो । समग्रमा प्रतियोगिता सफलतापूर्वक नै सकिएको देखिन्छ । तर प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधार थियो त भन्ने प्रश्न उठ्न सक्छ । उपमहानगपालिकाले नै सञ्चालन गर्ने फुटबलका लागि एउटा पनि मैदान छैनन् । हुप्रचौरमा प्रतियोगिता सम्पन्न भयो । तर हुप्रचौर फुटबल प्रतियोगिताका लागि उपयुक्त छैन । खेलाडी, निर्णायक र दर्शक एकै ठाउँमा हुने गर्दछन् । आफ्ना खेलाडीहरुको प्रदर्शन हेर्नका लागि उपस्थित भएका दर्शकहरु मैदानमै पसौं झैँ गर्दछन् । यो अवस्थाले उपमहानगरपालिकालाई चुनौती दिएको छ ।

खेलाडी र स्थानीय जनप्रतिनिधिहरुबीचको सम्बन्ध प्रगाढ बनाउने मेयर कपको उद्देश्य देखिन्छ । तर कतिपय जनप्रतिनिधि खेलाडीसँग उभिनै अप्ठेरो मानेको देखियो । तर विश्वका कतिपय देशका सरकार वा राष्ट्रप्रमुख नै खेलाडीसँग मार्चपासमा जाने गर्दछन् । धुलाम्य चौरमा जान अप्ठेरो लाग्ने प्रतिनिधिले पूर्वाधार विकासमा पनि जोड दिनु आवश्यक छ । हेटौंडामा सञ्चालन हुने मेयर कप, शहीद स्मृति राष्ट्रिय फुटबल वा भलिबल तथा अन्य कुनै पनि खेलका लागि सामान्य पूर्वाधार छैनन् । स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबलमा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि फरेष्ट्री क्याम्पसको असुरक्षित मैदानमा उत्रँदैछन् । फुटबल प्रतियोगिता सबैलाई मन पर्ने भए पनि रंगशाला निर्माणका लागि पहल नै पुगेको छैन । गौरीटार रंगशाला सपना बनेको छ तर खेलाडीका लागि यतिबेला खेलमैदान नै छैन ।