हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी थप वितरण सुरु गरेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सामरी खोलामा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएपछि पानी वितरण थपिएको हो । बिहान बेलुका मात्र पानी वितरण हुँदै आएकोमा सामरीको समवेल सुरु भएपछि हेटौंडाका केही वडाहरुमा दिनको तीनपटक धारामा पानी आउन थालेको हो । हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डले दैनिक १ करोड २२ लाख लिटर पानी वितरण गरिरहेकोमा समवेल सञ्चालनमा आएसँगै २७ लाख लिटर पानी थप भएको छ । बोर्डले हाल २२ वटा डिप ट्यूबेल र ६ वटा समवेलमार्फत् पानी व्यवस्थापन गरी नगरभित्रका विभिन्न वडामा वितरण गरिरहेको छ ।

ईच्छाशक्ति, संकल्प र चाहना भए कठिन काम पनि सहजै पूरा हुन्छ । कुनै योजना पूरा गर्न त्यसको नेतृत्वमा आत्मविश्वास र समर्पण आवश्यक छ । लोभी चाहना, स्वार्थी मनोभावना र जिम्मेवारीप्रति उदासिन नेतृत्वले संस्थाको उद्देश्य पूरा गर्न सक्दैन । केही वर्ष अघिसम्म पनि हेटौंडामा खानेपानीको संकट थियो । सुख्खा मौसममा टोलटोलमा ट्यांकरबाट पानी वितरण गर्नुपरेको थियो । तर केही वर्षदेखि भने हेटौंडा बजारभित्र खानेपानीको संकट समाधान भएको छ । खानेपानी संस्थानले वितरणको व्यवस्थापन गर्दा कठिनाई भोग्दै आएका उपभोक्तले यतिबेला भने प्रशस्त मात्रामा पानी पाएका छन् । खानेपानी व्यवस्थापन बोर्डले जिम्मेवारी लिएपछि पानी आपूर्तिमा सहज हुँदै गएको हो ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा खानेपानीको समस्या न्यूनीकरण हुँदै गएको छ । तर पालिकाभित्रै पनि दुर्गम क्षेत्रहरु छन् । ती ठाउँमा अझै पानीका लागि घण्टौंको समय छुट्याउनुपर्ने बाध्यता छ । अझ सुख्खा मौसममा त वस्तुलाई समेत टाडाबाट बोकेरै ल्याएको पानी खुवाउनु परिरहेको छ । यस विषयमा पनि खानेपानी व्यवस्थापन बोर्डले विशष ध्यान दिन आवश्यक छ । शहरमा पर्याप्त पानी छ भने दुर्गम बस्तीमा पनि सेवा पुर्‍याउने पहल हुन आवश्यक छ । प्रदेश र स्थानीय सरकारले पनि खानेपानीका लागि काम गरिरहेका छन् । तर उनीहरुको पहलले मात्र योजना पूरा हुन समय लाग्ने देखिएको छ । यसमा पनि खानेपानी व्यवस्थापन बोर्डमार्फत् काम गरिनु सान्दर्भिक देखिन्छ ।

सेवाप्रदायक निकाय तथा संस्थाहरुमा हुने उच्चस्तरको व्यवस्थापनबाट मात्र नागरिकले सही सेवा पाउन सक्छन् । तर सार्वजनिक सेवाप्रदायक निकायहरुबीच समन्वयसमेत हुन सक्दैन । सबैले आ–आफ्नै ढंगबाट काम गर्दा सेवा थप अन्यौलमा पर्ने गरेको पनि छ । कम जनशक्तिबाट बढी भन्दा बढी सेवा लिन र दिन सम्बन्धित निकायको नेतृत्व इमान्दार र नैतिक दृष्टिकोणबाट उच्च हुन आवश्यक छ । त्यसो भएमात्र कर्मचारीहरुले पनि जिम्मेवारी निर्वाहमा आफूलाई निपूर्ण र जिम्मेवार बनाउनेछन् । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको कामप्रति आम उपभोक्ताका गुनासा छैनन् भन्दा पनि हुन्छ । ग्रामीण क्षेत्रमा पनि सेवा विस्तारका लागि सम्बन्धित निकायहरुबाट बोर्डलाई सहयोग आवश्यक छ ।