हेटौंडाः हेटौंडामा बिहीबारबाट स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बिहीबार दिउँसो २ बजे हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृति युवा क्लब सिमरा भिड्ने भएका छन् । खेलको धुुुर्मुस–सुन्तलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तह शहीद स्मृति गोल्डकपको तेस्रो संस्करणको खेल तालिका यसअघि नै आयोजक मकवानपुर जिल्ला फुटबल संघले सार्वजनिक गरिसकेको छ । गोल्डकपमा १० वटा क्लबले सहभागिता जनाउने प्रतियोगिताको मुल आयोजक समितिका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो ।

गोल्डकपमा एक विदेशी टिम अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले पनि सहभागिता जनाउँदैछ । ए डिभिजन लिगका ६ वटा क्लबहरुसँगै गोल्डकपमा बागमती युवा क्लब सर्लाही पनि सहभागी हुनेछन् । गोल्डकप बिहीबाट सुरु भएर चैत्र ७ गतेसम्म चल्नेछ । गोल्डकपमा प्रत्येक दिन एकमात्र खेल आयोजना गरिने मुल आयोजक समिति अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।