रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिँदै ।

हेटौंडाः हेटौंडामा अन्तरनगर महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना रहेको प्रतियोगिता हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुरले रेफ्रीलाई बल हस्तान्तरण गर्नुहुँदै प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा बुधबार पुरुषतर्फ वडा नम्बर २, १७ र १९ तथा महिलातर्फ वडा नम्बर ६, १४ र १७ विजयी भएका छन् ।

स्वर्गीय केशवलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै मेयर महत ।

पुरुषतर्फका पहिलो खेलमा वडा नम्बर १९ ले वडा नम्बर ३ लाई २–० को सेटमा पराजित गरेको छ । दोस्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई २–१ को सेटले पराजित गरेको छ । यस्तै, तेस्रो खेलमा वडा नम्बर १७ ले वडा नम्बर १२ लाई क्रमशः २–१ को सेटले पराजित गरेको छ । महिलातर्फको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई २–१ को सेटमा पराजित गरेको छ । दोस्रो खेलमा वडा नम्बर १७ ले वडा नम्बर ११ लाई २–० को सोझो सेटमा पराजित गरेको छ भने तेस्रो खेलमा वडा १४ ले वडा १२ लाई २–१ सेटले पराजित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुअघि मकवानपुर जिल्ला खेलकुद विकास समिति परिसरमा स्थापना गरिएको स्वर्गीय केशवलाल श्रेष्ठको अर्धकदको प्रतिमामा माल्यार्पण गरी स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । प्रतियोगितामा महिलाको १० वटा टिम र पुरुषको १३ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा महिला र पुरुषतर्फ विजयी हुने टिमले नगद ५० हजार रुपैयाँ तथा द्वितीय हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।