हेटौंडाः हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा मंगलबार २ खेल भएका छन् । मंगलबार भएको खेलमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर १३ विजयी भएका छन् ।
मंगलबार भएको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर १४ लाई १–० गोलअन्तरले पराजित गरेको छ । वडा नम्बर ६ लाई जित दिलाउन आलोक श्रेष्ठले ३५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच वडा नम्बर १४ का सन्दिप गोले घोषित भए ।
यस्तै, मंगलबार भएको दोस्रो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ९ लाई टाईब्रेकरमा ५–३ गोलले हराएको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । वडा नम्बर ९ का तर्फबाट अमीर श्रेष्ठले खेलको १९ औं मिनेटमा र आशिष लामाले खेलको २३ औं मिनेटमा गोल गरेपनि खेलमा जित हात पार्न सकेन ।
वडा नम्बर १३ का तर्फबाट रवि घिसिङले खेलको २८ औं मिनेटमा र सुवास लामाले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा ९ का अमीर श्रेष्ठ घोषित भए ।