हेटौंडाः सञ्चार तथा सूचना प्रविधिमा भएको विकाससँगै कृत्रिम वौद्धिकता बढ्दो क्रममा रहेको र यसबाट प्राकृतिक मानव समाजमा देखिएका चुनौतिका विषयमा हेटौंडामा मंगलबार एक दिवसीय गोष्ठीको आयोजना गरिएको छ । इन्सेक, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा उत्तम उप्रेतीले सहजीकण गर्नुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनले नागरिकको आधारभूत अधिकार र स्वतन्त्रताहरुमाथि चुनौति थपिएको सहजकर्ता उप्रेतीले बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिको विकासले मानव शक्तिले गर्ने शारीरिकदेखि मानसिक काम पनि कम्प्युटर तथा इन्टरनेटको सहायताबाट गरिरहँदा मानव समाजकै अस्तत्वमा प्रश्न गर्नुपर्ने अवस्था आउनेमा सतर्क गराइएको छ ।

कार्यक्रममा सहभागीले यस किसिमका मुद्दामा कानुन निर्माण गर्ने सरोकारवालालाई नै सचेत गराउन सके नियन्त्रणको सम्भावना रहेको सहभागीको भनाइ थियो । अन्तर्राष्ट्रियस्तरमा देशका नागरिकको सूचना बिक्री गरेर देशकै सुरक्षा चुनौति बढ्ने अवस्थाप्रति पनि सहभागीले ध्यानार्षण गराएका थिए । कृत्रिम बौद्धिकताले नागरिकको गोपनीयताको अधिकार पनि हनन् भइरहेको छ ।