हेटौंडाः नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढी व्यक्तिलाई सम्मान गरिएको छ ।
साधारणसभामा नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पुर्याएको भन्दै सभामुख श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका नेवार समुदायका व्यक्तिहरुलाई प्रसंशापत्र प्रदान गरिएको थियो । यस्तै, ९० वर्ष नाघेका नेवार समुदायका जेष्ठ नागरिकहरुलाई खादा ओडाएर अभिनन्दनपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवारी भाषा, संस्कृति विशिष्ट रहेकाले संरक्षण गर्न नेवार समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो । शंखधर साख्वाःको प्रतिमा बनाउन प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको भन्दै उहाँले निर्माणाधीन शंखधर साख्वाः पार्कलाई विशुद्ध नेवार संस्कृतिमय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि सभामुख श्रेष्ठले नेपालको अस्तित्वका लागि रञ्जना लिपि (नेवारी भाषा) र नेपाल सम्वत्को महत्वपूर्ण योगदान रहेको भन्दै नेवारी भाषा, संस्कृति संरक्षण गर्न राज्यले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले नेवार समुदायको विकासका लागि आफूले सक्दो सहयोग गर्ने भन्दै शंखधर साख्वाः पार्कलाई आकर्षक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवं नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको कार्यक्रममा हेटौंडा १२ मा एक विगाहा चार कठ्ठा क्षेत्रफलमा निर्माणाधीन शंखधर साख्वाः पार्कबारे इन्जिनियर बिन्द्रलाल श्रेष्ठले नक्सा र विस्तृत योजना प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, नेवारी दोलखा भाषा विज्ञ एवम् पत्रकार बालकृष्ण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खलःको अध्यक्षमा पुनः खड्गी साधारणसभाले पुनः अनिल खड्गीकै अध्यक्षतामा नेवाः गुठी खलः मकवानपुरको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ र यज्ञबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा अम्बिका देउला, सहकोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा वीरेन्द्र कक्षपति, सुस्मिता बलामी, लक्ष्मी श्रेष्ठ, राजु श्रेष्ठ, विजयकुमार प्रधान, रुपकराज बज्राचार्य, शोभा शाही र कृष्णबहादुर नगरकोटी रहनुभएको छ ।