मैले हिजो, आज, रात, बिहानको समयमा पत्रपत्रिका, रेडियो सुन्दा वा टेलिभिजनबाट प्रसारित समाचार पढ्ना साथ मेरो मुटुनै भकानिन्छ, जसको कारण हो, समाजमा चलनचल्तीमा आएको समस्या महिला बलात्कार र महिलामाथि गरिने शोषण र दुव्र्यवहार ।
मानव सभ्यताको सुरुवाती काल खण्डदेखि आजको दिनसम्म नियाल्ने हो भने मानिसका धेरै प्रकारका विकास र सिर्जना भएको पाइन्छ । ढुङ्गे युगदेखि आजको हालको अवस्था सिर्जना गर्नका निम्ति हाम्रा पुर्खाहरुले ठूलो योगदान गरेका छन् । हाम्रो पुर्खाले विभिन्न विधिहरुलाई अपनाई हामीलाई आज यस अवस्थामा आफ्नो पाइला देक्ट सक्ने बनाएको पाइन्छ । पुर्खाहरुको जीवनशैलीलाई सहजीकरणका निम्ति संस्कृतिको विकास गरेको पाइन्छ । संस्कृतिहरु विभिन्न कालखण्ड र अवस्थामा परिवर्तनशील हुन्छन् । पहिला देखि नै पुर्खाहरुले निर्माण गरेको संस्कृतिले कसैको जीवन माथि ठूलो रुपमा प्रभाव पारेको छ ।
त्यस्तै एक संस्कृति हो पुरुष प्रधान समाज । बुढापाकाको भनाइमा छोरा बुढेसकालको सहारा र छोरी भनेको अर्काको घरमा जाने जात मानेको पाइन्छ । हाम्रो पुर्खाहरुको पालादेखि नै महिलाहरुको कुनै क्षेत्रबाट पनि विकास भएको थिएन । छोरीहरुको महिनावारीको सुरुवात नभइकन छोरीको आठदेखि दस वर्षको उमेरमा पाको भन्दै विस वर्षको बुढासँग बिहे गरेर पुण्य कमाउने समाजमा आजको कालखण्ड त्यस एक्काइसौं सताब्दीमा पनि त्यो प्रचलन जस्तै गरी अर्को प्रचलनको सुरुवात भएको छ जुन हो महिला बलात्कार ।
धेरै समयपछि महिलाहरुले आफूले आफूलाई एक पन्छी जस्तै गरी उड्न पाएका थिए तर अहिले भने फेरि त्यस पन्छीको पखेटा काट्ने अर्थात् महिला माथि शोषण गर्ने पुरुष मर्द भनौदाहरुको पनि यस समाजमा विकास भएको छ ।
मानिस एक चेतनशील, विवेकशील प्राणी भए तापनि उसको आचरण महिला तथा चेलीबेटी माथि अझ पनि सफा देख्न पाइएको छैन । समाजमा अन्य विभिन्न घटनाहरु फेला परे तापनि महिला हिंसा तथा बलात्कार चरम ठाउँमा पुगेको छ । जति मानिसहरु शिक्षित, अब्बल हुँदै गए त्यति अहिले कुलतको बाटोको निर्माणको कार्य अग्रसर हुन थाल्यो । जति मानिसमा चेतना बढ्न थाल्यो मानिस त्यतिनै आफ्नो राम्रो संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अपनाउन थालेको पाइन्छ ।
सामाजिक सञ्जालको माया प्रेम,घरबाट छुट्टिएर बस्ने प्रविधि,सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा आज नेपालमा महिलामाथि दिनहुँ जसो र मेरो समाजमा पनि त्यसैगरी त्यो प्रविधि नम्वर एकमा आउन थालेको छ । कुनै ठाउँमा महिला आफू त्यस्तो भएर त कुनै ठाउँमा पुरुषले आफ्नो हद बिर्सिएर महिलाहरु असुरक्षित भएको पाइन्छ ।
वास्तवमै भन्ने हो भने, छोरीहरुलाई कमजोर बनाउने र छोरीहरुलाई अघि बढाउने मुख्य थलो अर्थात् स्थान भनेकै आफ्नो घरको वातावरणले गर्दा हो । छोरा रातभरि घर आइ नपुग्दा केही नभन्ने मेरो समाज छोरी पाँच मिनेट भनेको भन्दा ढिलो हुँदा खाउँला झँै गर्दछन् । छोरीलाई घरको काम काज अह्राउने समाज छोराले चाहिँ घर बाहिरको काम हेर्ने अरे । कति पय नेपालकै भुगोल भित्र हेर्ने हो त दाइजो नल्याएको कारण त छोरो पाएको कारणले आफ्नो घरको बुहारी र श्रीमतीलाई जिउँदै जलाएको पाइन्छ ।
म एक तराई बासी भएको कारणले गर्दा भन्न चाहान्छु कि यस्तो अवस्था छ महिलाको । महिलाले आफ्नो अनुहार आफूभन्दा ठूलोलाई देखाउन नहुने रे । तराईमा त महिला हिंसाले त पुरै एउटा रुखले जार फिजाए झैँ फैलिएर बसेको छ । जसलाई उकास्ने काम त्यहाँका गाउँलेहरु स्वयमले गर्दछन् । महिला माथि बोक्सीको आरोप लगाउने गरेको पाइन्छ । जुन ठाउँमा महिलाको हक अधिकार कागजको दुई चार अक्षरमा मात्र सीमित हुन्छ । यदि कुनै अवस्थामा श्रीमान्को मृत्यु हुँदा हो त श्रीमतीहरु जिन्दगीभर सेतो कपडा लगाई र दुःख पीडा भोगी बसाउने समाज र श्रीमतीको निधन भएको एक महिना पनि नपुग्दै घरमा कान्छी श्रीमती ल्याउने समाजमा, हो हजुर म पनि बसोबास गर्ने गर्छु ।
शिक्षा र चेतनाको कमी भएको कारणले गर्दा धेरै जसो महिलाहरु बेचिन समेत पुगेका छन् । त्यस्ता महिलाहरु फेरि गाउँ फर्किए भने उनीहरुलाई हेर्ने दृश्य फरक हुन्छ र त्यही महिला दुःख पीडाको बोझ उठाउन नसकेकाले आफूले आफूलाई आत्महत्या गर्न बाध्य हुन्छिन् । महिलाहरुको हक अधिकारमा विभिन्न किसिमको कार्यक्रमहरु देशमा निर्माण भएको पाइन्छ जुन कुरा व्यवहारमा लागू छ त केही भने लागू हुने अवस्था नै छैन । हरेक वडामा महिलाहरुका लागि सिट, हरएक नगरपालिका तथा गाउँपालिकामा दुई प्रमुखमध्ये एक महिला सिट भएर महिलाको विकास भए तापनि त्यही महिलाहरु घरबाट आफू एक्लै हिँड्न डराउँछन् । महिलाहरुलाई अग्रसर बनाउन देशमा विभिन्न किसिमका परियोजना बनेको छ र जति परियोजना लागू हुँदै र बढ्दै छ त्योभन्दा दुई गुनाले महिला हिंसा पनि बढेको छ । गाउँ र टोल यस्तो घिनलाग्दो भयो कि आफ्नै घरको छोरीहरु पनि आफ्नै छिमेकी काका, बुवाहरु सँग डराएर हिँड्नु परेको छ । उनीहरुले कहिल्यै पनि आफूले आफूलाई म त सुरक्षित नागरिक हुँ भनेर मुख चलाउनसमेत पाएका छैनन् ।
देशको राष्ट्रपनि जस्तो गरिमामय पदमा महिला भएतापनि त्यस महिलाले आफ्नो जस्तै गरी अरु महिलाहरुको समस्या फेला पार्न सकेका छैनन् र कडा नियम कानुनको परियोजना सकेका छैनन्, हुन त हो गाउँमा चल्ने हावा र शितल निवासको हावा पनि फरक हुन्छ । महिलाको हकमा ठूला ठूला भाषणहरु भए तापनि ठाउँमा पुगेपछि विकास भने व्यक्तिको मात्र भएको छ नाकि महिलाको ।
आफ्नो पार्टी र कुर्सीको मायाले गर्दा निर्मला जस्ता कयौँ महिलाले न्याय पाएका छैनन् । आफ्नो पद र सत्ताका लागि सडकमा लाखौँको सङ्ख्यामा जनशक्ति जम्मा गरे तापनि एक महिलाको हक र अधिकारको विषयमा बढ्न सकेको छैन । गाउँ स्तरमा महिलाको अनिवार्य रुपमा शिक्षा र विभिन्न किसिमका जीवनोपयोगी शिक्षाको विकास गर्नुपर्छ । छोरीको हातमा कचिया नभएर कलम समाउन दिनुपर्छ । राष्ट्रले महिलामाथि गरिने सानोभन्दा सानो गतिविधिलाई ठूलो भन्दा ठूलो सजाएको निर्माण गर्ने हो भने गाउँ, राष्ट्रमा महिलाहरुको स्थान बढ्छ । विकास र प्रविधिका कारणले महिलाको गर्भको बच्चा पहिचान गर्ने र फाल्न रोक लगाउनु पर्छ । बलात्कारीलाई मृत्युदण्ड सजाए निर्माण गर्ने हो भने महिलालाई कसैले पनि ठाडो शिर उठाएर हेर्ने हिम्मत राख्दैनन् ।
नियम र कानुन सबैका लागि बराबर हुनुपर्छ । छोरी र बुहारीमा कहिल्यै पनि भेद्भाव गर्नुहुँदैन । एउटा नारीले भनेछिन् कि ‘छोरी हुँदा गर्भमा फाल्ने अब भन छोराका लागि बुहारी कहाँबाट ल्याउँछौ ?’