हेटौंडाः संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस मकवानपुरले आज सोमबार विरोध सभाको आयोजना गर्ने भएको छ । पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेस मकवानपुरले विरोध सभाका बारेमा जानकारी दिएको छ । नेपाली कांग्रेसको भातृ संगठनले दोस्रो चरणको अन्तिम कार्यक्रमको रुपमा सोमबारको विरोध सभा गर्ने जनाएको छ ।
विहान साढे ११ बजे पार्टी कार्यालयमा जम्मा भई मानसचोक, लोकप्रिय होटल हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोकमा पुगेर सभाको आयोजना गरिने कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी गराउनुभएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले वडास्तरीय, गाउँपालिका, नगरपालिका र जिल्लास्तरीय विरोधसभा गरेर पहिलो र दोस्रो चरणको अन्दोलनको अन्त्य हुने बताउनुभएको छ । संविधानको भावना विपरित संसद विघटन भएको उल्लेख गर्नुहुँदै पार्टी सभापति बानियाँले संसद विघटनको मुद्दामा न्यायपालिकाले छिट्टै न्याय दिनुपर्ने धारणा राख्नुभयो ।