हेटौँडा ः हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक राजेश बानियाँ विवादको पक्षधर बन्दै जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । नागरिकबीच विवाद हुँदा मेलमिलापको नीतिलाई प्राथमिकतामा राखेर सहमति, समझदारीको पक्षमा काम गर्नुपर्ने स्थानीय सरकारको न्यायिक समितिका संयोजक उपप्रमुख बानियाँ आफैं विवादको पक्षधर भएर प्रशासन कार्यालय पुग्नु भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन लक्षित सदस्यता विवादमा विवादको एक पक्षको रुपमा उपप्रमुख बानियाँसहित ९ जना व्यवसायीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दर्ता गराएका छन् । व्यवसायी पृष्ठभूमिकै उपप्रमुख बानियाँले व्यवसायीको निर्वाचन अघिको विवादमा एउटा पक्षको वकालत गर्दै प्रशासन समक्ष आफ्नो पदीय प्रभाव समेत प्रस्तुत गर्नुभएको छ । उपप्रमुख बानियाँले विवादको एक पक्षमा रहेर निवेदन दर्ता गराएको स्वीकार गर्नुहुँदै मकवानपुर प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई विवादमा आफ्नो पक्षको वकालत गरेर टेलिफोनमा कुराकानी गरेको समेत बताउनुभयो ।
‘मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको छु’ उपप्रमुख बानियाँले भन्नुभयो, ‘विवादको विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरेको छु । म न्यायिक समितिको संयोजक भए पनि म पीडित, प्रभावित भएको अवस्थामा न्याय माग्न जान सक्छु ।’
यता प्रमुख जिल्ला अधिकारीले भने विवादको विषयमा कानुन, विधानसम्मत काम गर्ने उल्लेख गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले आफूलाई फोन नगरेको स्पष्ट पार्नुभयो । ‘व्यवसायीको विवादको विषयमा निवेदन प्राप्त भएको छ । तर, उपप्रमुखसँग विवादको विषयलाई लिएर मैले कुनै किसिमको कुराकानी गरेको छैन’, प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो ।
वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले न्यायिक समितिका संयोजकलाई पनि कानूनतः आफ्नो पक्षमा कानूनी उपचारको प्रक्रियामा जानलाई रोक हुन्न तर, न्यायिक समितिका संयोजक आफैं कुनै विवादित विषयमा पक्षधर भएर अगाडि बढ्न, सरोकारवालासँग आफ्नो पक्षमा न्याय माग्न सान्दर्भिक नहुने बताउनुभयो ।