कोरोना भइरसका कारण यस वर्षको शैक्षिक क्यालेण्डर नै प्रभावित हुने अवस्थामा छ । शिक्षा मन्त्रालयले स्पष्ट दृष्टिकोणसहितको नेतृत्व लिन नसक्दा विद्यालयहरु आफैंले अनुकुलतामा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न बाध्य छन् । शिक्षाको राष्ट्रिय तालिकामा समानता नभए पनि बालबालिकाहरु शैक्षिक क्रियाकलापमा सहभागी हुन पाएका छन् । कतिपय जिल्ला वा पालिकाहरुमा अझै पनि प्रत्यक्ष सहभागी भएर कक्षा सञ्चालन हुन सकेको अवस्था छैन । काठमाडौंमै पनि बल्ल प्रत्यक्ष सहभागी भएर विद्यालयहरुले कक्षा सञ्चालन गर्न थालेका छन् । देशमा मात्र होइन कि एउटै जिल्ला भित्रका पालिकाहरुमा समेत शैक्षिक क्रियाकलाप फरक–फरक ढंगबाट सञ्चालन भइरहेको पाइन्छ । कतै परीक्षा सञ्चालन भएका छन् भने कतै कक्षामा पढाई भइरहेका छन् ।

विद्यालय तहमा मात्रै होइन, विश्वविदालय तहमा समेत कोभिडले तालिकामा फेरबदल ल्याइदिएको छ । शैक्षिक गतिविधिमा भएको असमानताले तह बृद्धिमा भने फरक नपर्ने गरी राष्ट्रिय नीति बनाउनु पर्दछ । विश्वव्यापी महामारी कोभिडले अन्य देशको शिक्षामा पारेको असर र सरकारले गरेको नीति पनि अध्ययन हुन आवश्यक छ । अन्य मुलुकको अभ्यासले पनि नेपाल शिक्षाको तालिकामा सुधार गर्न वा समान बनाउने काममा सहयोग पुग्न सक्छ । असल अभ्यासहरु जहाँको भए पनि उपयोग गर्ने र बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गरिनु आजको आवश्यकता हो । विश्व विद्यालयहरु बीच पनि यतिबेला तालिका फरक परेका छन् । कुनै विश्वविद्यालयले सहज रुपमा परीक्षा सञ्चालन गरिसकेका छन् भने कुनैले बल्ल सुरु गरेको अवस्था छ ।

जोखिमका बीच पठनपाठन सुरु गरेका मकवानपुर जिल्लाका विद्यालयहरुमा पनि एकरुपता छैन । करिब दुई महिना अघिबाट औपचारिकरुपमा खुलेका विद्यालयहरुमा कतै पठनपाठन चलिरहेका छन्, कतै परीक्षा सञ्चालन भइरहेका छन् भने कतिपय विद्यालयले परीक्षा सञ्चालन गरिसकेका छन् । कोरोनाको जोखिम अन्त्य भइनसकेको अवस्थामा खुलेका विद्यालयहरुमा आ–आफ्ना अनुकूलतामा कक्षा सञ्चालन भएका हुन् । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण सहजीकरण निर्देशिका मार्फत विभिन्न विकल्पको व्यवस्था गरेपछि मकवानपुरका विद्यालयहरुले आ–आफ्नो अनुकूलतामा कक्षा सञ्चालन गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आ–आफ्नो अनुकूलता अनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि मंसिर दोस्रो साताबाट नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन सुरु भएको हो ।

आफू अनुकुल कक्षा सञ्चालन सकारात्मक पक्ष भए पनि परीक्षा प्रणालीमा एकरुपता आवश्यक हुन्छ । यसका लागि नियमनकारी निकायबाट अनुगमन गरिनु आवश्यक हुन्छ । प्रत्यक्ष उपस्थितिमै कक्षा सञ्चालन सुरु भए पनि कतिपय विद्यार्थीहरु अझै अनुपस्थित छन् । अभिभावकहरु बालबालिकालाई भिडभाडमा पठाउन अझै आनाकानी गरिरहेका छन् । यस्तो अवस्थामा कोही विद्यार्थी निरन्तर पढाईमा रहने र कोही विद्यार्थीको पढाई निरन्तर छुट्दै जाने हो भने शैक्षिक योग्यता र क्षमतामा नै असर पर्ने देखिन्छ । त्यसैले सबै विद्यार्थीहरुलाई शैक्षिक सिकाईमा समान अवसर हुने वातावरण निर्माण गरिनु आजको आवश्यकता हो । तसर्थ शैक्षिक मुल्यांकनमा समानताका लागि अध्ययनको वातावरण पनि समान हुनु पर्दछ ।