उपाधि साथ ग्याङस्टार क्लबका खेलाडीहरु ।

हेटौंडाः मकवानपुरको थाहा नगरमा मंगलबार सम्पन्न थाहा गोल्डकपको उपाधि ग्याङस्टार क्लब कैलाशले जितेको छ । मंगलबार भएको फाइनल खेलमा ग्याङस्टारले ईन्द्रसरोवर गाउँपालिकाको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ग्याङस्टारका लागि एन्जल म्याक्स पोग्बाले दोस्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच ग्याङस्टारका श्रीकृष्ण श्रेष्ठ घोषित भए ।

ग्याङस्टारले उपाधिसहित एक लाख रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ईन्द्रसरोवर गाउँपालिकाको टिमले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी ग्याङस्टारका रुपेश अधिकारी घोषित भए । रुपेशले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर ईन्द्रसरोवर गाउँपालिकाका मनोज वाईबा, उत्कृष्ट डिफेन्डर ग्याङस्टारका दीपक थापा घोषित भए । राइजिङ प्लेयरको ट्रफी ऋषेश्वरका शुकराज गोले घोषित भए ।

प्रतियोगिताभर ६ गोल गरेका ऋषेश्वरका खेलाडी लक्ष्मण शाहीले हाइस्कोररको ट्रफी प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीले जनही ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उपविजेतालाई थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पुरस्कार रकम तथा शिल्ड वितरण गर्नुभयो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।