वैदेशिक रोजगार नेपालीहरुको बाध्यता हो । जस्तो पनि काम गर्न तयार भएर विदेशिने युवाहरुको संख्या लाखौं छ । प्रत्येक वर्ष रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढ्दै गएको छ । कोरोनाका कारण चालु आर्थिक वर्षमा विदेशिनेको संख्या केही कमी आउने आँकलन गरिएको भए पनि पछिल्लो समय धमाधम संख्या बढ्दै गएको छ । कोरोना महामारी चल्दै गर्दा धेरै युवाहरु स्वदेश नफर्किएका हैनन् । अझ भारतबाट त लाखौं मानिसहरु देश भित्रिएका थिए । तर जीवन धान्न कठिनाई भएपछि कोरोना कहरकै बीच जहाँबाट आएका थिए त्यहीँ जान बाध्य भएका छन् । यतिबेला भारतलगायत अन्य देशमा जानेहरुको संख्या उल्लेख्य छ । फर्किएकाहरु फेरि किन जाँदैछन् भन्ने कुरामा राज्यले गम्भीर समीक्षा गर्नु आवश्यक छ ।
देशका करिब ५६ प्रतिशत घरमा विप्रेषण (रेमिटान्स) भित्रिरहेको तथ्यांकले नै देखाएको छ । देशको कुल गार्हस्थ उत्पादनको करिब २८ प्रतिशतले योगदान पुर्याइरहेको वैदेशिक रोजगारीको माध्यमबाट वार्षिक ८ खर्ब रुपैयाँ विप्रेषण भित्रिनुले देशको अर्थतन्त्रमा यसको योगदान कति छ भन्ने प्रष्ट हुन्छ । देशमा हरेक वर्ष ४ लाख ५० हजार श्रम शक्ति उत्पादन भइरहेकोमा ७४ दशमलब ५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारमा जाने गरेका छन् । देशका लागि यति महत्वपूर्ण आम्दानी गर्ने शक्ति अदक्ष भई न्यून र जोखिमयुक्त काम गर्न बाध्य हुनुपर्ने अवस्था राज्यसंयन्त्रका लागि चुनौतीको विषय हो । त्यसैले केही गैरसरकारी क्षेत्रबाट वैदेशिक रोजगारसँग जोडिएका सवल पक्ष, चुनौती र अवसरबारे बहस र विश्लेषण हुन सुरु भएका छन् ।
दक्ष जनशक्ति उत्पादन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने विषयमा सरकारी तहबाटै योजना बनाउने र कार्यान्वयन गरिनु आवश्यक छ । केही संस्थाहरुले गरेका कामहरु दीर्घकालीन हुन सक्दैनन् । स्पष्ट नीतिका साथ युवाहरुलाई दक्ष बनाउने र के कस्तो अवस्थामा विदेश जाने र कसरी सुरक्षित बन्ने भन्ने कुराको जनस्तरमै जानकारी गराउन आवश्यक छ । केही सीमित वर्ग र क्षेत्रमा मात्र नभई आमनागरिक तहमै यस्ता कार्यक्रमहरु सञ्चालन हुनुपर्दछ । युवाहरुलाई सुरक्षित विदेश पठाउने र कामको सुनिश्चित हुने अवस्था बनाउने भन्ने पक्ष महत्वपूर्ण छ । यही उद्देश्यबाट मकवानपुरका विभिन्न चार ठाउँमा सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श गर्ने कार्यक्रमहरु सञ्चालन भएको पाइएको छ ।
सुरु गरिएका सबै कार्यक्रम परिणाममुखी बनाउन आवश्यक हुन्छ । कुनै संस्थाबाट केही रकम आएपछि कार्यक्रमका लागि कार्यक्रम गर्ने प्रवृत्ति बढी छ । तर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने विषय अत्यन्त संवेदनशील र आजको आवश्यकता हो । त्यसैले सुरुवात गर्ने संस्थाहरुले यो अभियानलाई निरन्तरता दिन सक्नुु पर्दछ । अभिमुखीकरण र प्रेरित गर्ने हो भने देशका युवाका लागि ठूलो उपलब्धि हुनसक्छ । अदक्ष जनशक्ति विदेशमा गएर पनि अलपत्र पर्ने वा जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था छ । त्यसैले दक्षता हासिल कहाँ कसरी भन्ने कुराको प्रशिक्षण आवश्यक छ भने दक्षता हासिल गरेपछि आफ्नै देशमा पनि केही गर्ने आँट र हौसला बढ्न सक्छ । त्यसैले युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा प्रशिक्षित गराउन राज्यले पनि विशेष नीति र कार्यक्रम ल्याउनु पर्दछ ।