हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पपछि क्षति भएको निजी आवासको पुनर्निर्माण गर्न यही पुस १५ गतेसम्म पहिलो किस्ता लिइसक्न आग्रह गर्नुभएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुरले आयोजना गरेको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उहाँले अन्तिम पटक सम्झौता गर्ने समय पुस १५ सम्म रहेको बताउनुभयो ।
पुस १५ पछि सम्झौता गरेर पहिलो किस्ता लिन नमिल्ने भन्दै कुनै पनि भूकम्पपीडितमाथि अन्याय भएमा सरकारले जुनसुकै बेला पनि न्याय गर्नसक्ने उहाँले बताउनुभयो । जिल्लामा पुनर्निर्माणसम्बन्धी आएका समस्यालाई समाधान गर्न आवश्यक समन्वय गर्दै आएको भन्दै मकवानपुरको प्रगति विवरण ठिकै रहेको उहाँले बताउनुभयो । आइतबार जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुर शिक्षा, भवन र स्थानीय पूर्वाधार कार्यालयले एकैसाथ गतवर्षको प्रगति विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको ५ औं वर्षको अवसरमा ती कार्यालयहरुले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपीले जिल्लामा पुनर्निर्माण लाभग्राही संख्या ३५ हजार एक सय ८८ घर रहेको बताउनुभयो । उनीहरुमध्ये ३२ हजार आठ सय पाँच लाभग्राहीले मात्र पुनर्निर्माण सम्झौता गरेको बताउनुभयो । सम्झौता भएकामध्ये हालसम्म २२ हजार एक सय पाँच लाभग्राहीले निजी आवासतर्फ पुनर्निर्माण सम्पन्न गरिसकेको बताउनुभयो । जोखिमयुक्त बस्तीमा परेका लाभग्राही संख्या २५ रहेकोमा जोखिमयुक्त बस्तीबाट आन्यत्र जग्गा खरिद गरी गएका लाभग्राही संख्या २२ जना रहेको उहाँले बताउनुभयो । त्यसैगरी जोखिम वर्गमा परेका लाभग्राही संख्या छ सय २७ जना, साविककै स्थानमा घर निर्माण गर्न स्वीकृतप्राप्त भूमिहीन लाभग्राही संख्या पाँच हजार पाँच सय ७५ र जग्गा खरिद गरेका भूमिहीन लाभग्राही संख्या ६१ जना रहेको उहाँले बताउनुभयो ।
यस्तै, कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकले जिल्लामा पर्याप्त मात्रामा विद्यालयको भौतिक संरचना निर्माण भएपनि विद्यालयको शिक्षाको गुणस्तर परिवर्तन भए नभएको ध्यान दिनुपर्ने बताउनुभयो । स्थानीय तहले विद्यालय मर्मतका लागि बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै विद्यालय व्यवस्थापन समितिले पनि विद्यालयको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त दुई सय ५२ विद्यालय भवनका सात सय ९३ कक्षाकोठामध्ये हालसम्म दुई सय ५१ भवनका सात सय ८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माणसम्पन्न भइसकेको प्रमुख पाठकले बताउनुभयो । जाइकाको ऋणबाट निर्माण हुँदै गरेका ४१ विद्यालयमध्ये २७ विद्यालयको दुई सय ७८ कक्षाकोठा निर्माणसम्पन्न भएर हस्तान्तरण पनि भइसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । उहाँले एसियाली विकास बैकमार्फत् एउटा नमूना विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको जानकारी दिनुभयो ।
गत आर्थिक वर्षदेखि तीन वटा विद्यालयको ४८ कक्षाकोठा निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भन्दै प्रमुख पाठकले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको दुई सय १७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत् सम्झौता भई निर्माण कार्य अगाडि बढेको बताउनुभयो । कार्यक्रममा पाठकले हालसम्म तीनवटै मोडालिटीबाट जिल्लाका ३ सय पाँच विद्यालयको एक हजार दुई सय २६ कक्षाकोठा निर्माण सम्पन्न भई प्रयोगमा आएको र जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका एक सय ३२ कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको बताउनुभयो । एसियाली विकास बैकको ऋण सहयोगमा तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको, विपत्पश्चातको आवश्यकता पहिचानमा समावेश भएका जिल्लाका एक सय ७९ विद्यालयहरुमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेको जस्ता कारण कार्यक्रममा समावेश गर्न नसकिएको पाठकले बताउनुभयो ।
यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को तर्फबाट इन्जिनियर रविन पाठकले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले हाल जिल्लामा पर्याप्त मात्रामा इन्जिनियर भएपनि आगामी असारदेखि नहुने बताउनुभयो । यसकारण प्राविधिकहरु लागीपरेको भन्दै सकेसम्म छिटो निर्माणका कामहरु सकाउन प्राविधिक अग्रसर भएको उहाँले बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टको पनि उपस्थिति थियो ।