हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बुढापाका नेताहरुको होस र युवाहरुको जोशका साथ नेकपा अब अगाडि बढ्ने बताउनुभएको छ । आइतबार प्रचण्ड–माधव पक्षको नेकपा मकवानपुरको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै न्यौपानेले बुढाहरुको होस, युवाको जोश र बाधकको निर्भयता तीन चिज लिएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । बुढा केपी ओलीले युवाको साथ लिँदा खाल्डोमा परेको भन्दै अब युवाको पछाडि बुढापाका नेताहरु हिँड्नुपर्ने बताउनुभयो । उहाँले सूर्य थापाजस्ता नेता केपी ओलीको साथमा रहे पनि सही दिशानिर्देश गर्न नसकेको आरोप लगाउनुभयो ।

जनताले अब केपी ओलीलाई बिदाई गरेको भन्दै प्रचण्ड–माधव पक्षमा कार्यकर्ता विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो । उहाँले राजनीतिमा उमेर हद हुनुपर्ने भन्दै बामदेव गौतमलाई पनि आफूसँग नल्याएर आराम गर्न दिएको बताउनुभयो । युवाहरुले पनि बुढापाकालाई आराम गरेर बस्नुस्, अब हामी गर्छौं भनेर युवाहरु अग्रपंक्तिमा आउनुपर्ने बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्य न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापाको घाँटी थिचेर राखेको भन्दै ‘तँ गएमा तेरो भाइ पनि जान्छ र छोरा पनि जान्छ’ भनेर राखेको बताउनुभयो । उहाँले केपी ओलीको सरकार अल्पमतमा परेको भन्दै सत्यको पछाडि हिँड्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता न्यौपानेले नेकपाको कार्यकर्ताले अब अध्ययन गर्ने बानी गर्नुपर्ने बताउनुभयो । दिनभरी पार्टीको छलफल र निर्णयमा सहभागी हुने, बेलुकी जता भोज छ त्यतै जान नहुने बताउनुभयो । उहाँले नेकपाको कार्यकर्ताले अब दैनिक आधाघण्टा अध्ययन गर्न समय निकाल्नुपर्ने बताउनुभयो ।

भेलामा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले सांसदलाई नै थाहा नदिई जनताले चुनेको प्रतिनिधि संसदलाई हटाउने ओलीको कार्य सही नभएको बताउनुभयो । उहाँले केपी ओलीलाई कारबाही गर्नुपर्ने र न्यायालयले पनि न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । केपी ओलीले रेल र पानीजहाजजस्तै गरेर ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बढाएर १ हजार बढी पुर्‍याउँदैमा भोटको वर्षा नहुने खतिवडाले बताउनुभयो । हिजोका दिनमा यत्रो जम्बो टिम लिएर हिँड्दा पनि नआएको भोट अहिले केपी ओलीलाई चाहिने भन्दै पानीजहाज र रेलकै ताल हुने बताउनुभयो । महाकाली सन्धि गरेर वार्षिक १ खर्ब २ अर्ब आउने गफ हानेको भन्दै अहिलेसम्म पनि गफ दिने बानि नछुटेको खतिवडाले बताउनुभयो । उहाँले केपी ओलीले जुन धारा टेकेर संसद विघटन गर्नुभयो, त्यो पानी आउने धारा नभएको नेता खतिवडाले टिप्पणी गर्नुभयो ।

भेलामा नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तानले संसद विघटन हुने कि नहुने विषय अदालतमा पुगेकाले अदालतले न्याय गर्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले कार्यकर्तालाई सत्यको पक्षमा उभिन पनि आग्रह गर्नुभयो । यस्तै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जनताले दिएको जिम्मेवारीसँगै जनआन्दोलनबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व भएको बताउनुभयो । अध्यक्ष सिग्देलले हिजोको दिनमा राजनैतिक आन्दोलन सकियो, आर्थिक आन्दोलन गर्ने भन्दै हिँडेकोमा उल्टै हामीमाथि कुटिल षडयन्त्र भइराखेको बताउनुभयो । त्यस्ता कुटिल षडयन्त्रलाई बेलैमा चिन्न नसक्दा अहिले गल्ती भोग्नुपरेको बताउनुभयो । उहाँले प्रदेशमा निहु खोजेमा संघमा जस्तै भंग गरिदिन्छु भन्दै केपीले धम्की दिएकोमा आपत्ति जनाउनुभयो । उहाँले मुख्यमन्त्री डोरमणि पौडेलले पनि पार्टीलाई गुमराहमा राखेर केपी ओलीकै ईसारामा अगाडि बढेको बताउनुभयो । उहाँले पार्टीसँग कुनै छलफल नै नगरेर एकलौटी ढंगले अगाडि बढेको भन्दै अविश्वासको प्रस्ताव पनि दर्ता गरेको बताउनुभयो ।

नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले सोमबार मसाल जुलुसको तयारी गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ । जिल्लाका दशवटै स्थानीय तहबाट विरोधमा उत्रनुपर्ने बताउनुभयो । देशमा विरोध प्रदर्शन र मसाल जुलुस हेर्दा देश अर्कै दिशामा गइसकेको भन्दै उहाँले १४ गते काठमाडौंमा हुने प्रदर्शनमा मकवानपुरको हेटौंडा, थाहानगर लगायत सबै स्थानीय तहले कार्यकर्तालाई यातायातको व्यवस्थापन गरेर लैजान आग्रह गर्नुभएको छ । यसलाई पार्टी कार्यालयले पनि सर्कुलर गर्ने भन्दै ओली सरकार अब नरहने उहाँले बताउनुभयो । उहाँले प्रचण्ड–माधव पक्षमा पार्टी प्रवेश गर्नेहरुको लहर देखिने बताउनुभयो ।

आइतबार कार्यकर्ता भेलामै विप्लव मकवानपुरका तत्कालीन इन्चार्ज वीरबहादुर घलान (ज्वाला), जिल्ला सेक्रेटरी जयराम रायमाझीलगायत एक सय ७६ जना नेकपामा प्रवेश गरेका छन् । भेलामा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौंडा उपमहानगरपालिकाकी उमपेयर मीनाकुमारी लामा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायत प्रचण्ड–माधव प्यानलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।