जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहँदा देशका विभिन्न स्थानीय तहमा एकैपटक ३ सय ९६ वटा अस्पतालको निर्माण सुरु गरेको छ । सबै पालिकाहरुमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले देशभरका ३ सय ९ पालिकामा ५ देखि १५ बेडसम्मका अस्पतालको एकै दिन शिलान्यास भएका छन् । आलोचकलाई जवाफ दिनमात्र शिलान्यास भएका हैनन् भन्नका लागि पनि निर्धारित समयमै एकैदिन उद्घाटन गर्नेगरी काम हुन आवश्यक छ । यसका लागि निर्माण कार्यले तिब्रता पाउनु पर्दछ भने बजेटको अभाव हुनुहुँदैन । तर, आजसम्मका ठूला योजनाहरुले काम सम्पन्न गर्नेगरी बजेट पाएका उदाहरण विरलै छन् । त्यसैले अस्पताल निर्माण अभियान अन्य योजनाभन्दा फरक बनाउनु सरकारका लागि अवसर र चुनौती दुबै हो ।

सञ्चालनमा रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतमा जनशक्ति र उपकरणको अभावमा सेवा प्रभावित भइरहेको छ । कतिपय पुराना अस्पतालहरु रेफर सेन्टरजस्तै बनेका छन् । प्राथमिक उपचारबाहेक बिरामीले अन्य स्वास्थ्य सेवा पाउन सकेका छैनन् । लामो समयदेखि भवन, जनशक्ति र उपकरणको अभावमा अस्पतालहरु आफैं बिरामी परेका छन् । सरकारी अस्पतालको यही दुरावस्थाले नागरिक निजी अस्पतालबाट महंगो सेवा लिन बाध्य छन् । मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै बाँच्नका लागि निजी अस्पतालदेखि भारतमा समेत पुग्नुपर्ने बाध्यता छ । यही अभाव पूरा गर्न भन्दै सरकारले सबै पालिकामा स्वास्थ्य सेवा पुर्‍याउने क्रममा अस्पताल निर्माण सुरु गरेको दावी छ । अभियान सफल भएमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रान्ति मानिनेछ ।

सरकारी अभियानअन्तर्गत् बागमती प्रदेशका १० जिल्लाका ३९ स्थानीय तहमा अस्पताल शिलान्यास भएको छ । धादिङका ६, मकवानपुरका ५, दोलखाका ५, सिन्धुपाल्चोकका ५, रामेछाप, नुवाकोट र काभ्रेमा चार/चार वटा तथा सिन्धुली र रसुवामा तीन/तीन र चितवनका १ स्थानीय तहमा ५ देखि १५ बेडका अस्पताल शिलान्यास गरिएको हो । यता मकवानपुरका ५ स्थानीय तहहरुमा अस्पताल बन्ने भएका छन् । मकवानपुरको थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र मनहरीको प्राथमिक स्वास्थ्य केन्द्रको भवन १५/१५ शैयाको बन्ने भएको छ । यस्तै, कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकी र राक्सिराङ गाउँपालिकाका खैराङ स्वास्थ्य चौकी १०/१० शैयाको बन्नेछ भने ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीको भवन ५ शैयाको बन्ने भएको हो ।

अस्पताल निर्माणको शिलान्यास भइरहँदा जनशक्ति व्यवस्थापन चुनौती बन्ने देखिन्छ । हाल सञ्चालनमा रहेका अस्पतालमा समेत दक्ष जनशक्तिको अभावमा उपचार सेवा प्रभावित भएको छ । यस्तै कतिपय अस्पतालमा रहेका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले एक वर्षभित्रमा अस्पताल भवन निर्माण गर्ने सरकारी लक्ष्य प्राप्त भए पनि सेवाप्रवाह हुन समय लाग्ने देखिन्छ । भवन निर्माणसँगै जनशक्ति उत्पादनको पनि योजना अघि सारिनु आवश्यक छ । दक्ष जनशक्ति उत्पादन, भवन निर्माणजस्तो सहज र छिटो हुन सक्दैन । यस बिषयमा सरकारको ध्यान पुग्नु पर्दछ । जनशक्ति व्यवस्थापनसहित निर्माण हुँदै गरेका भवनबाट स्वास्थ्य सेवा एक दुई वर्षभित्र दिन सकिए पक्कै पनि यस क्षेत्रको ऐतिहासिक उपलब्धि बन्नेछ ।