सोमबार पदभार ग्रहणपछि नेपाल बाल संगठन मकवानपुरका सभापति र सदस्यहरु ।

हेटौंडाः नेपाल बाल संगठन मकवानपुरले पूर्णता पाएको छ । नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय समितिले एक महिनाअघि अशोक सारु मगरलाई मकवानपुर जिल्ला सभापति चयन गरेको थियो । सोमबार जिल्ला सभापति अशोक सारु मगरले भीमफेदीका मनोज प्रधान र हेटौंडाकी दिलु घर्तीलाई सदस्यमा मनोनित गर्नुभएसँगै संगठनको मकवानपुर जिल्ला समितिले पूर्णता पाएको हो ।

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा एक कार्यक्रमका बीच जिल्ला समितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, ६ नम्बर वडा अध्यक्ष सिताराम थापा, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, सामाजिक विकास शाखाका प्रमुख बद्रि सापकोटा, बालगृह प्रमुख सुरेन्द्र सापकोटाको उपस्थितिमा नेपाल बाल संगठन मकवानपुरका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा भीमफेदीस्थित बालगृहलाई नमूना बालगृहको रुपमा स्थापित गर्न भीमफेदी गाउँपालिकासँग सहकार्य गर्ने निष्कर्ष निकालिएको सभापति अशोक सारु मगरले बताउनुभएको छ । यस्तै ललितपुर जिल्लास्थित चिल्ड्रेन्स होम नेपालसँगको साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको सभापति मगरले जानकारी दिनुभएको छ । भीमफेदी बालगृहमा अहिले ७ वर्षदेखि १८ वर्ष उमेर समूहका ३५ जना बालबालिका संरक्षित छन् । नेपाल बाल संगठनले देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गर्नुका साथै १० जिल्लामा बालसुधार गृह सञ्चालन गरिरहेको छ ।