आज असोज मसान्त अर्थात प्रहरी सेवा दिवस । नेपाल प्रहरीले हरेक वर्ष असोज मसान्तलाई प्रहरी दिवसको रुपमा मनाउँदै आएको छ । प्रहरी दिवस प्रहरी सङ्गठन र यसमा आवद्ध अधिकारीहरुका लागि महत्वपूर्ण दिन हो । प्रहरी सङ्गठन मूलतः नागरिकको सुरक्षाका लागि राज्यद्वारा स्थापित संस्था हो । नेपाल प्रहरीमा झण्डै एक लाख जनशक्ति छन् । नेपाल प्रहरीका इकाईहरु समुदायको तल्लो तहसम्म छ । समुदायमा हुने ससाना मुद्दादेखि ठूल्ठूला घटनामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । अपराध नियन्त्रण, अपराध अनुसन्धान र अपराधीलाई नियन्त्रण तथा कारवाहीको दायरामा ल्याउन नेपाल प्रहरी राज्यकै प्रमुख संरचना हो । प्रहरीको जिम्मेवारी, दायित्वका दृष्टिकोणले अत्यन्त संवेदनशील समेत छ । प्रहरी सङ्गठनको संवेदनशीलताकै कारण यसको भूमिकालाई लिएर बेला बेलामा निक्कै आलोचना भइरहेको हुन्छ ।

नेपालको सन्दर्भमा कतिपय आपराधिक घटनामा प्रहरीकै संलग्नता समेत पुष्टि भएको छ । ठूल्ठूला अपराधका घटनामा प्रहरीकै संलग्नता रहनुले पनि प्रहरीको साख गिर्दो छ । ५०, १०० रुपैयाँ घुस रकमदेखि हत्या, तस्करीका मुद्दामा पनि प्रहरीको संलग्नता पुष्टि हुनुले प्रहरीको साख कमजोर बन्दै गएको हो । अधिकांश मुद्दामा पीडित र पीडकको बीचमा रहेर प्रहरीको भूमिका शंकास्पद भएका प्रसस्त घटनाहरु छन् । मकवानपुरकै सन्दर्भमा पनि केहीदिन अघि मात्रै इलाका प्रहरी कार्यालय पशुपतिनगरका ईन्चार्ज प्रहरी निरीक्षक देवराज काफ्लेले लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छाडेको घटना होस् या बागमती प्रदेश प्रहरीले इलाका प्रहरी कार्यालय भीमफेदीका ईन्चार्ज रामबालक यादव रायलाई घुस रकमसहित पक्राउ गरेको घटनाले प्रहरी सङ्गठनभित्र गम्भीर अपराधलाई स्पष्ट पारिरहेको छ । सुरक्षाकै लागि खटिनुपर्ने संवेदनशील निकायका जिम्मेवार अधिकारीहरु आफैं मोल–मोलाई र अपराधमा संलग्न हुनु सामान्य विषय होइन ।

सशस्त्र सुरक्षामा खटिने प्रहरी सङ्गठनभित्र हुने अपराधलाई आन्तरिक रुपमा विभागीय कारवाहीमै सिमित गरेर प्रहरी सङ्गठनलाई नै कमजोर बनाउने प्रयास निरन्तर भइरहेको छ । प्रहरी नेतृत्वले भने देखावटी स्वरुप ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहित प्रहरी सेवा’, ‘समुदायमा प्रहरी’ लगायतका लोकप्रिय नाराको प्रचारमा व्यस्त छ । समुदायमा प्रहरीको उपस्थितिले नागरिकले सुरक्षित महसुस गर्ने भन्दा पनि सशंकित हुनुपर्ने अवस्था छ । प्रहरीप्रति आम नागरिकको अविश्वास बढ्दो क्रममा छ । नागरिकसँग प्रहरीको प्रस्तुती पनि उत्तिकै आपत्तिजनक रहने गरेको छ ।

प्रहरी सङ्गठनले आफू मातहतका जिम्मेवारीअनुसार जवाफदेही बनाउँदै नागरिकको विश्वास आर्जन गर्नुको विकल्प छैन । एकजना प्रहरीले चाहँदा कम्तिमा जिल्लाको सुरक्षा व्यवस्था र जनताको सुरक्षाको प्रत्याभूतिको अवस्थामा व्यापक फरकपन आउने अवस्था रहन्छ । प्रहरी सङ्गठनभित्रै एकजना प्रहरी नागरिकको तहमा निक्कै लोकप्रिय हुनुको एउटै कारण समग्रमा सङ्गठनको साख कमजोर हुनु नै हो । यतिबेला प्रहरीलाई सुधार्ने राजनीतिक नेतृत्वको क्षमता छैन । प्रहरी नसुध्री नहुने सङ्गठन पनि हो । यसर्थ प्रहरी सङ्गठन आफैंबाट सुध्रनु जरुरी छ । प्रहरीको सङ्घ, प्रदेश र जिल्ला तीन तहको अन्तरसम्बन्ध र जवाफदेहितालाई विस्तार गर्दै प्रतिवद्धताका साथ काम गर्ने हो भने प्रहरी सङ्गठनलाई सही दिशामा अग्रसर गराउन र जनविश्वास आर्जन गर्न सकिन्छ । लोकप्रिय लाग्ने नारा प्रचार गरेर प्रहरी सङ्गठनको औचित्य हुन्न ।

प्रहरी दिवसको अवसरमा नागरिकले महसुस गरेको सुरक्षा अनुभूतिको स्तर, सुरक्षामा प्रहरीले गरेका काम, सुरक्षा सतर्कताको अवस्था, प्रहरीको सीप, दक्षता र कार्यकुशलताको वास्तविक मूल्याङ्कन र त्यसको समयानुकुल सुधार र क्षमता विकासमा प्रहरी सङ्गठन र सरकारले नै प्रतिवद्धता प्रस्तुत गर्नु जरुरी छ ।