कालिदासलाई ‘महाकवि कालिदास’ बनाउने उनको कृति हो, ‘अभिज्ञान शाकुन्तलम् ।’ दुष्यन्त र शकुन्तलाको प्रेमकथा हो यो काव्य । यसको कथासार यसप्रकार छ ।

वत्सराज कोइराला

पौराणिक कालमा एकजना दुष्यन्त नामका राजा थिए । एकदिन उनी शिकार खेल्न वनमा जाँदा कण्व ऋषिको कुटीमा पुग्छन् । कण्वको अनुपस्थितिमा उनकी छोरी शकुन्तलाले राजाको अतिथि सत्कार गर्छिन् । श्वेत परिधानयुक्त सुन्दरी शकुन्तलालाई देखेर दुष्यन्त मोहित हुन्छन् । उनले शकुन्तलालाई प्रेम प्रस्ताव राख्छन् । शकुन्तला पनि उनीसँग गन्धर्व विवाह गर्न तयार हुन्छिन् । ऋषि कण्वको अनुपस्थितिमा उनीहरुले सहवास गर्छन् ।

यस्तैमा जरुरी खबर पाएर राजालाई तत्काल दरबार जानुपर्ने हुन्छ । राजाले शकुन्तलालाई आफ्नो सुनको औंठी दिन्छन् र आफू राजदरबारतिर लाग्छन् ।

केही दिनपछि ऋषि दुर्वासा भिक्षाटन गर्न त्यस कुटीमा आउँछन् । उनले भिक्षाम् देही भनेर पुकारा गर्छन् । तर आफ्नो प्रेमी दुष्यन्तको कल्पनामा हराएकी शकुन्तलाले दुर्वासाको आवाज सुन्दिनन् । बारम्बार बोलाउँदा पनि नसुनेकी हुँदा दुर्वासा क्रोधित हुन्छन् र शकुन्तलालाई श्राप दिन्छन्, “जसको सम्झनामा आज तिमीले मेरो उपेक्षा ग¥यौ त्यसले तिमीलाई बिर्सिदेओस् ।’ शकुन्तलाले रुँदै माफी मागेपछि दुर्वासाले श्रापमा संशोधन गर्दै भन्छन्, “तर यदि त्यसले तिमीलाई दिएको कुनै चीज देख्यो भने तिमीलाई पुनः सम्झने छ ।’
कण्व ऋषि यात्राबाट फर्केपछि आफ्नी छोरी शकुन्तलाले राजा दुष्यन्तसँग विवाह गरेको थाहा पाउँछन् । उनले छोरीलाई अब यसरी माइतीमा बस्न नहुने र पतिको घरमा नै जानुपर्ने सल्लाह दिन्छन् । कण्वले केही मानिसहरूको साथ लगाएर छोरीलाई राजमहलतर्फ बिदाई गर्छन् ।

राजमहल जाँदा बाटोमा पर्ने एउटा नदीमा शकुन्तलाको हातबाट दुष्यन्तले दिएको चिनो उक्त सुनको औँठी खस्छ । औंठी एउटा माछाले निल्छ । शकुन्तला राजमहल पुग्छिन् तर दुष्यन्तले उनीलाई चिन्दैनन् । किनभने दुर्वासाको श्राप थियो र औंठी पनि हराइसकेको थियो ।

त्यसपछि शकुन्तला वनमा कुटी बनाएर बस्छिन् । त्यहीँ उनले एक सुन्दर शिशुलाई जन्म दिन्छिन् । उता नदीमा माछा मार्ने माझीले आफूले पक्रेको माछा चिर्दा एउटा औंठी फेला पार्छ । त्यो बहुमूल्य औंठी राजालाई दिन उचित ठानेर उसले दुष्यन्तलाई लगेर दिन्छ । त्यो आफ्नै औंठी देखेपछि राजा दुष्यन्तलाई सबै कुराको सम्झना आउँछ र आफ्नी प्रियतमा खोज्न निस्कन्छन् । तर शकुन्तलालाई फेला पार्न सक्दैनन् ।
यस्तैमा एकदिन दुष्यन्त इन्द्रसभाबाट फर्कंदै गर्दा जंगलमा एउटा बालकले सिंहको दाँत गनिरहेको दृश्य देख्छन् । उनी दौडेर त्यस बालकलाई उचाल्न खोज्छन् तर एउटी दासीले भन्छे, ‘बालकलाई नउठाउनु होला किनभने बालकलाई उठाउनासाथ उसको हातमा भएको बालाले सर्पको रुप लिनेछ । बालकलाई उनको पिताले मात्र उचाल्न सक्छन् ।’ दासीको कुरामा किञ्चित ध्यान नदिई दुष्यन्तले बालकलाई उठाउँछन् । तत्काल बालकको हातको बाला टुक्रिएर भूइँमा खस्छ ।

यो कुरा दासीले कुटीमा गएर शकुन्तलालाई सुनाउँछे । शकुन्तला दौडिँदै त्यहाँ आउँछिन् । शकुन्तला र दुष्यन्तको भेट हुन्छ । दुबैजना अंकमाल गर्छन् । शकुन्तलाले भन्छिन्, ‘यो बालक हाम्रो प्रेमको निशानी हो । उ हाम्रै छोरा भरत हो ।’

यसरी कथाले सुखान्त मोड लिन्छ र सकिन्छ । बाबू, आमा र छोरा राजमहलतर्फ प्रस्थान गर्दछन् ।