महेन्द्र ओझा, साहित्यिक युट्युव सञ्चालक

साहित्य र समाजको सम्बन्ध प्रगाढ हुनुपर्छ । साहित्यले समाजको चरित्रलाई चित्रण गर्दै समाजलाई सही दिशामा अग्रसर हुन प्रेरित गर्नुपर्छ । समाजकै मार्गदर्शक बन्नुपर्ने साहित्य नै समाजमा उपयोगी हुन नसकेको, चासोमा नपरेको चिन्ताले हेटौंडाका महेन्द्र ओझाले युट्युव टिभि एनएस टेलिभिजन नै सञ्चालन गरिरहनुभएको छ । साहित्यिक क्रियाकलापलाई दृश्यमा कैद गर्दै सुरुवात भएको एनएस टेलिभिजन अहिले साहित्यकारका रचना प्रत्यक्ष प्रसारणमा ओझा व्यस्त हुनुहुन्छ । साहित्यलाई समाजसम्म सम्प्रेषण गर्ने काममा तल्लिन महेन्द्र ओझासँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः युट्युव टिभिलाई अत्यन्त लगावका साथ साहित्य विशेष बनाउनुभएको छ । युट्युव टिभिलाई किन साहित्य विधा विशेष बनाउनुभयो ?
ओझाः साहित्यलाई कुनै पनि माध्यमले त्यत्ति महत्व नदिएको जस्तो, कुनै कुनामा राखेको जस्तो लाग्यो । अग्रज र अनुज पुस्तालाई जोड्न, साहित्यले समाज बोल्ने भएकोले, अरुको आँशुमा किन गर्ने, चटपटे समाचार या जानकारी भन्दा वौद्धिक कुरा पनि हुन्छ भनेर साहित्यलाई नै रोजेँ । मेरो रुचिको क्षेत्र पनि हो साहित्य, मेरो झुकाव पनि रहेको छ ।

समाजः रुचिको कुरा गर्नुभयो । तर, तपाइँ आफैं चैं साहित्य रचना प्रस्तुत गर्नुहुन्न नि ?
ओझाः अब मैले नै साहित्य रचना गरेर प्रस्तुत गर्ने भन्दा पनि अन्य साहित्यकारको प्रस्तुतीलाई स्रोता, दर्शकसम्म पुर्‍याउने भन्ने मेरो सोँचाई हो ।

समाजः साहित्य विशेष युट्युव च्यानललाई सामाजिक दायित्वको रुपमा मात्रै हेर्नुभएको छ कि यसको व्यावसायिक अवसरको पनि सम्भावना छ ?
ओझाः तडक भडक गर्‍यो भने त व्यवसाय छ । तर, मैले निरन्तर ४ वर्षदेखि अनलाइन टिभि चलाइराखेको छु । मेरो त सेवा मात्रै हो । युट्युवमा एनएस टेलिभिजन नाम छ । अहिले त सेवा मात्रै हो । पछि भविष्यमा व्यावसायिक अवसर पनि हुन सक्छ । टिम वर्क भयो भने हुन सक्छ । तत्काल नै व्यावसायिक योजना भने छैन ।

समाजः नियमित सञ्चालनको खर्च हुन्छ । नियमित खर्चका लागि आम्दानीको स्रोत चैं के हो ?
ओझाः कुनै पनि आम्दानीको हिसाबले हेरेको छैन । व्यावसायिक रुपमा संस्था दर्ता गरेर काम गर्न सकिन्छ । व्यावसायिक सम्भावना पनि छ । राम्रा लेखक, साहित्यकार लुकेर बसेका छन् । हामी पनि बजारमुखी छौं । म पनि हेटौंडा बजार केन्द्रित छु । पछिल्लो समय लाइभ गर्दै आएको छु । यसमा भारतीय नेपाली भाषी साहित्यकारलाई सहभागी गराएको छु । अहिले नेपालको पूर्विक्षेत्रबाट साहित्यकारहरुलाई जोड्दै ल्याएको छु । साहित्यकारले आआफ्ना मौलिक भाषा र मौलिकतामा पनि प्रस्तु गर्न सक्छन् ।

समाजः लकडाउनले अझ वृहत बनाउन सहयोग गर्‍यो ।
ओझाः त्यो हो । लकडाउनअघि मैले साहित्यिक कार्यक्रमहरुमा सहभागी भएर तिनै कार्यक्रम प्रस्तुत गर्ने गरेको थिएँ । अहिले रचनात्मक समेत बनाएको छु । साहित्यकारको प्रत्यक्ष प्रस्तुती गराएको छु । केही फरक भएको छ ।

समाजः तपाईले आफ्नो युट्युवमा प्रस्तुत गर्न साहित्यकार छनोट कसरी गर्नुहुन्छ ?
ओझाः अहिले त जे लेख्यो त्यही साहित्य भन्ने चलन छ । सामाजिक सञ्जालको पनि दुरुपयोग भएको छ । मनमा जे आयो, त्यही लेख्नु नै साहित्य हो भन्ने छ । तर, त्यस्तो होइन । आफ्नो वौद्धिकतासँगै साहित्यले समाज बोल्नुपर्छ, जीवनलाई प्रेरणा दिनुपर्छ भन्ने लाग्छ । मेरो आफ्नो विचार हो । साहित्यकार छनोटको कुरामा कुनै टिम छैन । सामान्य रुपमा केही सल्लाह गरिन्छ । कसका कुरा समाजतर्फ ढल्किएको छ भन्ने आधारमा छनोट गर्ने गरेको छु ।

समाजः आम्दानी, सर्वसाधारणको चासोको विषय नै नबनेको साहित्यलाई छनोटको अरु कुनै विशेष कारण छ ?
ओझाः विशेष कारण त केही छैन । केही फरक गरौं भन्ने लागेर हो । समाजको भीडमा उस्तै काम के गर्नु भन्ने भो । अहिले पनि तपाईले केही फरक लागेरै कुराकानीका लागि बोलाउनुभयो ।