हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका स्थानीय तहहरुको अनुगमन सुरु गरेको छ । नियमित अनुगमनको क्रममा जिसस मकवानपुरले शुक्रबार बागमती गाउँपालिकाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिको अनुगमन टोली मकवानपुरका स्थानीय तहको प्रथम चौमासिक अनुगमनमा निस्किएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

चालु आर्थिक वर्ष सुरु भइसकेपछि पहिलो चौमासिकमा गर्नुपर्ने कामहरु सुरु गरे/नगरेको, घोषणा गरिएका योजनाहरुको काम अगाडि बढे/नबढेको विषयमा अनुगमन भएको उहाँले बताउनुयभो । उपभोक्ता समिति गठन भए/नभएको, जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट बन्ने विद्यालय भवन, स्वास्थ्य चौकीको पूर्वाधारको कामको विषयमा छलफल भएको उहाँले बताउनुभयो । स्थलगत अनुगमन गर्दा बागमती गाउँपालिकामा चालु वर्षका विकास योजनाका कामहरु अगाडि बढेको पाइएको खुलालले बताउनुभयो । यस्तै प्रमुख खुलालले जिससको मौज्दात कोषबाट बन्ने पूर्वाधारको कामहरु छिट्टो अगाडि बढाउन गाउँपालिका प्रमुखलाई सुझाव दिएको बताउनुभयो ।

बागमती गाउँपालिकामा कोभिड–१९ का बारेमा पनि छलफल भएको छ । गाउँपालिकालाई कसरी सुरक्षित राख्ने, सङ्क्रमित देखिए राख्नलाई आइसोलेसन वार्ड निर्माण गर्ने लगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ । यसअघिका वर्षहरुमा भन्दा बागमती गाउँपालिकाको कार्यप्रगतिमा केही सुधार भएको पाइएको उहाँले बताउनुभयो । शुक्रबार भएको अनुगमनमा प्रथम चौमासिकमा गर्नुपर्ने विकास योजनाका कार्यक्रमबारे समिक्षा भएको जानकारी गराउनुभयो । अब जिसस मकवानपुरले जिल्लाका अन्य ९ स्थानीय तहको अनुगमन गर्ने प्रमुख खुलालले बताउनुभयो । अनुगमनमा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, जिसस बोर्ड सदस्यहरु सीता अधिकारी, सरिता विश्वकर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।

अनुगमनमा पुगेका जिसस पदाधिकारीलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङ्तान, वडा अध्यक्षलगायत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको काम तथा योजनाका बारेमा जानकारी गराएका थिए ।