ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता पनि बढ्न थालेको छ । यही चासोलाई सम्बोधनका लागि सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यले दिवस मानाइने भए पनि कमजोर आर्थिक अवस्था भएका मुलुकमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा चुनौतीको विषय बन्ने गरेको छ । २०६८ सालको गणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत ज्येष्ठ नागरिक छन् । सामाजिक जिम्मेवारी बढ्ने भएकाले ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा राज्यका तर्फबाट विशेष योजना बनाइनु आवश्यक छ । नेपालको संविधान २०७२ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । तर व्यवहारमा उक्त हक पूर्णरुपमा लागु हुन सकिरहेको छैन ।
ज्येष्ठ नागरिकका लागि नेपालमा देखिने कार्यक्रम बृद्धभत्ता हो । घोषणाका लागि त हवाई सेवामा छुटदेखि यात्रुबसमा सिटको आरक्षण समेत गरिएको छ । अस्पतालदेखि अन्य क्षेत्रमा पालो कुर्न नपर्ने र केही छुटको व्यवस्था गरिएका छन् । तर नेपालका सबै ज्येष्ठ नागरिकले ती सुविधा लिन सक्ने अवस्था छैन । देखावटी रुपमा घोषणा भएका कतिपय कार्यक्रमहरु आर्थिक अभावमा कार्यान्वयन नै हुन सकेको छैनन् भने कतिपय व्यवहारिक रुपमा नै कठिनाई छ । राज्यको व्यवस्थापकीय कमजोरीले कानूनले प्रत्याभूत गरेका अधिकार समेत ज्येष्ठ नागरिकहरुले उपयोग गर्ने अवस्था बनेको छैन । त्यसैले उनीहरु संगठित भएरै पटक–पटक आन्दोलन गर्न बाध्य छन् । युवा हुँदा राजनीतिक अधिकारका लागि लडेकाहरु बृद्ध अवस्थामा जीवनयापनका लागि संघर्ष गर्न बाध्य छन् ।
राज्य संयन्त्र बीच समन्वयको अभाव र कार्यसम्पादनमा भएको कमजोरीले कानूनद्वारा प्रत्याभूत अधिकार उपयोग गर्न नसक्दा धेरै ज्येष्ठ नागरिकहरु कष्टकर जीवन बिताउन बाध्य छन् । त्यति मात्र होइन पारिवारिक बेमेलको पहिलो शिकार ज्येष्ठ सदस्यहरु नै हुने गरेका छन् । त्यस माथि संयुक्त परिवारमा नबस्ने पछिल्लो पिढीको रहरले अघिल्लो पुस्ता एक्लो जीवन बिताउन बाध्य छन् । काम गर्न नसक्ने भएपछि परिवारमा बोझका रुपमा लिने गर्दा आज ज्ञान, सीप र अनुभवको समेत पुस्तान्तरण हुन सकेको छैन । संस्कार, संस्कृतिदेखि रितिरिवाज तथा ऐतिहासिक ज्ञान पछिल्लो पुस्ताले पाउनै सकेको छैन । त्यसैले जेष्ठ नागरिकलाई बोझ नभई ज्ञानको धरोहरका रुपमा संरक्षणको संस्कृति आजको आवश्यकता हो ।
ज्येष्ठ नागरिकमा स्वास्थ्य सुरक्षा चुनौती बनेको छ । विशेषगरी कोरोनाको कारण विश्वभर नै वृद्धवृद्धाहरु बढी मात्रामा प्रभावित भएका छन् । केही अपवाद बाहेक पाको उमेरका नागरिकहरु कोरोनाको उच्च जोखिममा देखिएका छन् । रोगसँग लड्ने क्षमता उमेरसँगै कमजोर हुनु स्वभाविक हो । त्यसैले ज्येष्ठ नागरिक आफैं घर बाहिर गएर संक्रमित हुने भन्दा परिवारका समस्यहरुबाट पनि जोखिम छ । तसर्थ अघि पछिको भन्दा ज्येष्ठ नागरिकहरुलाई यस्तो महामारीमा विशेष हेरचाह आवश्यक छ । सरकारले पनि उनीहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा विशेष र अलग्गै कार्यक्रम ल्याउन आवश्यक छ । सामाजिक रुपमा सम्मान र प्रशंसा गरेमा परिवार भित्र पनि उनीहरु खुशीसाथ बस्न सक्छन् । सबैले बृद्ध हुनु पर्दछ भन्ने भावनाको विकास गराई ज्येष्ठ नागरिकहरुलाई सहज रुपमा बाँच्न पाउने वातावरण बनाउन अभियानको खाँचो छ ।