कोभिड–१९ संक्रमणको जोखिमका कारण खेलकुद पनि अछुतो रहेन । देशभर अहिले खेलकुदका गतिविधि यतिबेला ठप्प छ । विकसित मुलुकले दर्शक बिना नै खेलकुद क्रियाकलापलाई सुचारु गरिसकेको छन् । देशव्यापी रुपमा खेलकुद ठप्प भइरहेका बेला मकवानपुर जिल्लाको खेलकुदको अभ्यासका विषयमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामासँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः तपाई अध्यक्ष नियुक्त हुनुभए लगत्तै कोभिड–१९ का कारण सबैक्षेत्र ठप्प छ । यस्तो परिस्थितिमा खेलकुदलाई कसरी सुचारु गर्न सकिन्छ भन्ने सोँच्नुभएको छ ?
लामाः मैले अध्यक्षको जिम्मेवारी पाएको केही दिनमै यो कोभिड–१९ को महामारीले संसारलाई नै तनाव दिने स्थिति बन्यो । यो समयमा सबैभन्दा बढी असर खेलकुदमा परेको छ । कोभिडकै कारण प्रदेश सरकारले आयोजना गर्ने भनिएको प्रदेश खेलकुद पनि रोकियो । हामीले राष्ट्रपति रनिङ सिल्डको कार्यक्रम पनि स्थगित भयो । खेलकुद भन्ने बित्तिकै भीडभाड हुने भन्ने बुझिन्छ । जसले कोरोनाको महामारीमा खेलकुद गतिविधि गर्न सकिने अवस्था रहेन । म नियुक्त भएर आउँदा काम गर्ने उत्साह लिएर आएको थिएँ । कोरोनाका कारण काम गर्न पाइएन । यही समयमा हेटौंडामा निर्माणाधीन गौरिटार रंगशालाको रेखदेख गर्ने, त्यसलाई पूरा गर्न प्रदेश खेलकुद परिषद् र मुख्यमन्त्री ज्यूसँग पनि आवश्यक सल्लाह र समन्वय गर्ने काम गरिरहेको छु ।
समाजः प्रदेश सरकारमार्फत नियुक्त हुनुभएको पहिलो अध्यक्ष हुनुभयो । संघीय सरकारसँगको अधिकारको विषय पनि अझै स्पष्ट छैन । विवादका बीच पनि काम गर्न थाल्नुभएको छ नि ।
लामाः यो विषय महत्वपूर्ण छ । प्रदेश भनेको नयाँ अवधारणा हो । किन भने पहिले जिल्ला खेलकुद विकास समिति केन्द्रबाटै चल्ने अवस्था थियो । अहिले जिल्ला खेलकुद विकास समिति प्रदेश मातहतमा चल्ने भनेर आयो । प्रदेश र केन्द्र सरकारबीचको तालमेल नमिलेका कारण हामीलाई अत्यन्त दुख लागेको छ । प्रदेशले पाउनुपर्ने अधिकार पाउन सकेको छैन । धेरै कुरा नगरौं हामीले कर्मचारी पाएका छैनौं, कार्यालय बनेको छैन । म आफैं विद्यार्थी, युवासँग जोडिएको हुनाले खेल सामग्री माग्नेहरुको संख्या उल्लेख्य रहेको छ । स्थानीय तहहरुमा खेलसम्वद्ध युवाहरु छन् । खेल मैदानको माग धेरै देखिएको छ । अहिलेसम्म बजेट नै आइनसकेकोले के हुन्छ भन्ने निश्चित छैन ।
समाजः तपाइँसँगै नियुक्त हुने केही सदस्य साथीहरु पदस्थापन नै गर्न आएनन् । त्यसलाई व्यवस्थापन गर्ने कुरा के गरिरहनुभएको छ ?
लामाः पार्टी धेरै ठूलो छ । पार्टीमा धेरै किसिमका पंक्तिहरु छन् । त्यसमाथि म, हामी जस्ता खेलक्षेत्रमा आवद्ध, म पनि योग्य छु भन्ने साथीभाईहरु धेरै हुनुहुन्थ्यो । जसले गर्दा केही असहज महसुस गर्नुभएको थियो । केही साथीहरु चिसिएका थिए, रुष्ट भएको थिए । अहिले म अध्यक्ष र एकजना सदस्य निरु जी हुनुहुन्छ । हाम्रा अन्य तीनजना साथीहरु आउनुभएको छैन । मैले पार्टीको नेतृत्वसँग पनि कुरा गरिराखेको छु । अब विस्तारै आउनुहुन्छ होला, म लिएर आउँछु भन्ने लागेको छ । मैले धेरै पटक आग्रह गरेको छु । आउनुस् म पनि केही होइन भनिराखेको छु । मिलेर काम गरौं भनेको छु । हामी टिम मिलेर खेलकुद क्ष्ँेत्रको विकासमा लागौं भनेको छु । उहाँहरु आउनुहुन्छ होला सायद ।
समाजः तपाइँ प्रदेश मातहतको जिल्ला अध्यक्ष बन्नुभयो । मकवानपुरका १० वटा स्थानीय तहमध्ये केही स्थानीय तहमा खेलकुद समिति गठन हुन नसकेको देखिन्छ । यसलाई कसरी हेर्नु भएको छ ? यसलाई कसरी समाधान गर्ने ? भन्ने सोँच्नु भएको छ ?
लामाः मकवानपुर जिल्लाका १० वटा स्थानीय तह छन् । मलाई काम गर्न सहज हुन दस वटै स्थानीय तहमा खेलकुद विकास समिति गठन गर्नुपर्ने छ । केही स्थानीय तहमा खेलकुद विकास समिति गठन नभएको देखिन्छ । निकट भविष्यमै अब सबै सरोकारवालाको उपस्थितिमा कसरी खेलकुदको विकास गर्न सकिन्छ भनेर सुझाव लिने तयारीमा छु । प्रशिक्षक, खेलाडी, शुभेच्छुकसँग सुझाव लिएर काम गर्छु ।
समाजः यो विषम् परिस्थितिमा खेलकुदका गतिविधि नभए पनि खेलकुदका भौतिक निर्माणमा काम गर्नुपर्ने थियो, गर्न सक्थ्यौं । यो विषयमा प्रदेश सरकारसँग तपाइँले के कस्तो पहल गर्नुभएको छ ?
लामाः प्रदेश सरकारले खेलकुदलाई एकदमै सकारात्मक ढंगले हेरिराखेको छ । जस्तै मनहरीको रमौलीमा खेलकुद रंगशालाका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ छुट्याएको छ । यस्र्तै पदमपोखरीमा पनि प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गर्दैछ । अहिले केही असहज छ । क्रमशः सहज हुँदै गएपछि अझ राम्रोसँग काम गर्ने सोँच लिएर म अगाडि बढेको छु ।
समाजः अन्तर्राष्ट्रियस्तरमा हेर्दा खेलकुद गतिविधिलाई क्रमशः सुचारु गर्ने प्रयास भइरहेको छ । हाम्रो देशको सन्दर्भमा पनि कसरी खेलकुदका गतिविधिलाई सहज बनाउन सकिन्छ भन्ने लागेको छ ?
लामाः म जिल्लाको मात्रै खेलकुद हेर्ने जिम्मा पाएको छु । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् भन्ने छ । अब माथिल्लो निकायले निर्देशन नदिई मैले केही गर्ने अवस्था छैन । केन्द्रबाटै निर्देशन नआएसम्म केही गर्न सकिने अवस्था छैन । मलाई लाग्छ अब यो अवस्था सामान्य बन्दै गयो भने दसैंपछि अलि सहज हुनेछ । खेलकुदका गतिविधि सुचारु गर्न सकिन्छ होला ।