बाढी–पहिरो र डुबान नेपालीहरुको जीवनशैली जस्तै बनेको छ । प्रत्येक वर्ष यो विपत्तीबाट सयौंको संख्यामा नागरिकको ज्यान जाने गरेको छ । यस्तै हजारौं नागरिक विस्थापित हुँदै आएका छन् । रोकथाम र नियन्त्रणका लागि पूर्वतयारी हुन सकेको छैन । दीर्घकालिन योजना र नीतिको अभावमा प्राकृतिक विपद्को सामना गर्नु परिरहेको छ । यस वर्ष पनि विपद्बाट दश वर्ष यताकै बढी मानवीय क्षति भएको सरकारी तथ्यांकले नै देखाएको छ । पहाडी जिल्लामा पहिरो र तराईका जिल्लाहरुमा भलबाढी तथा डुवानले जनधनको क्षति हुँदै आएको छ । त्यस मध्ये पनि यस वर्ष बागमती प्रदेशको सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा बढी क्षति भएको छ । रोकथामका लागि कुनै योजना नहुँदा नागरिकले प्रत्येक वर्ष यस्तै विपद्को सामना गर्नु परिरहेको छ ।

विज्ञहरुबाट जोखिमयुक्त भनेको क्षेत्र र स्थानहरुमा रहेका वस्ती स्थानान्तरण नहुँदा मानवीय क्षति हुँदै आएको छ । आफ्नो भएको जेथा छाडेर नागरिक स्वयम् स्थानान्तरण हुन सक्दैनन्, सरकारले नै उनीहरुको बस्ति स्थानान्तरणको योजना बनाउनु पर्दछ । हरेक वर्षको मनसुनमा दोहोरिने यस्ता घटनाक्रम बारे विज्ञहरुले गम्भीरतापूर्वक गरेको अध्ययन र अनुसन्धानको तथ्यलाई नीति निर्माताहरुले गम्भीरतापूर्वक नलिँदा दुःखद् परिणाम जनताले भोग्नु परेको छ । क्षणिक लाभका योजना प्राविधिक परामर्श बिना नै कार्यान्वयन गर्दा गाउँबस्ती जोखिममा पर्ने गरेका छन् । विकासका नाममा विनास त भित्रिएको छैन ? भन्ने प्रश्नको जवाफ खोज्न नागरिक र जनप्रतिनिधि गम्भीर हुनै पर्दछ ।

वर्षा सुरु भएपछि खोलाले बगाएर पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । मकवानपुरमा यसै वर्ष पनि दश जना बढीलाई खोलाले बगाएको छ । पछिल्ला केही दिनमा बगाएका घटनाहरु भइरहेका छन् । विशेषगरी खोला तर्न खोज्दा बगाउने गरेको छ । सरकारले तुईन विस्थापन गर्ने नीति लिए जस्तै नागरिकको पायक पर्ने स्थानमा झोलुङ्गे पुल मात्रै भए पनि बनाउनु आवश्यक छ । यस्ता योजनामा राजनीति हुँदा धेरै मानिसले उपयोग गर्ने स्थानमा नभई अपायक पर्ने ठाउँमा पुल बन्दा पनि खोला तर्ने क्रममा बगाएका घटनाहरु छन् । तसर्थ स्थानीय जनप्रतिनिधिहरुले पुल बनाउँदा धेरै मानिसले उपयोग गर्न सहज हुने स्थानको छनौट गर्नुपर्ने देखिन्छ । नागरिकहरु पनि जिम्मेवार नबन्दा ज्यान जाने गरेका धेरै घटनाहरु छन् । कतिपय व्यक्ति स्वयम्को असावधानी र अति आत्मविश्वासका कारण घटना भएका छन् । यस्ता घटनाहरुबाट नागरिकले पाठ सिक्नु पर्दछ ।

पछिल्लो समयमा जलवायु र मौसमका विषयमा हुन थालेका पूर्वानुमानहरु तथ्यमा आधारित र विश्वासिला बन्दै गएका छन् । प्रविधिको विकाससँगै नेपालमा पनि मौसम पूर्वानुमान मिल्न थालेको अवस्था छ । यस्ता सूचनालाई आधार लिएर मात्र यात्रा तय गरेमा बगाउने जोखिम कम हुने छ । यस्तै पहिरोमा परेर मृत्यु भए वा विस्थापित भएपछि राहतको व्यवस्थापन भन्दा अघिल्लो वर्षदेखिनै जोखिम न्यूनीकरणका लागि योजना बनाउने र वर्षा लाग्नु अघि कार्यान्वयन गर्नु पर्दछ । उद्दारको हतारो भन्दा जोखिम हुन नदिने तर्फ ध्यान दिन आवश्यक छ । राहतका पोका बोकेर जानु भन्दा समयमै राज्यलाई सचेत बनाउने काममा सामाजिक संस्थाहरु पनि जिम्मेवार हुनु पर्दछ । नत्र प्रत्येक वर्ष एउटै विपत्तीको सामना गरिरहनु पर्ने हुन्छ ।