हेटौंडाः बुधबारदेखि अबरुद्ध भएको हेटौंडाबाट भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अझै खुल्न सकेको छैन । बुधबार बिहान गुडीरहेको स्कोर्पियो जीप पहिरोले पुरिँदा चालकको मृत्यु भएको थियो । यस्तै एउटा मोटरसाइकल पनि पहिरोमा परेको थियो । मोटरसाइकलमा सवार दुईजना सामान्य घाइते भएका थिए । हेटौंडा–काठमाडौं जोडने छोटो दूरीको सो सडकमा भीमफेदीदेखि इन्द्रसरोवरसम्म विभिन्न ठाउँमा साना–ठूला धेरै ठाउँमा पहिरो गएकाले बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा ठूलो पहिरो गएको छ । त्यस्तै इन्द्रसरोवर–२ देउरालीमा, मकवानपुरगढी–६ र भीमफेदी–६, जुरिखेत लगायतका स्थानमा पहिरो गएको थियो । आइतबार दिउँसो जुरिखेतको पहिरो हटाइएको प्रवक्ता रानाले बताउनुभयो । सिस्नेरी र देउरालीको पनि पहिरो हटाउन प्रहरीले निरन्तर प्रयास गरिरहेको भन्दै प्रवक्ता रानाले बाटो खुल्न कति समय लाग्छ भन्ने एकिन हुन नसकेको बताउनुभयो ।
ठूलो पहिरो ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ को सिस्नेरी नजिक भालटारमा गएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । ईन्द्रसरोवरदेखि फाखेलतर्फको बाटो भने एकतर्फी रुपमा सञ्चालन भइरहेको अध्यक्ष लामाले बताउनुभयो । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने यो बाटोमा पहिरो गएकोले धेरै यात्रुहरुलाई समस्या परेका छन् । कतिपय सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।
यता भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ को जुरिखेतदेखि मकवानपुरगढी–६ हुँदै इन्द्रसरोवरको सिमखोलासम्म ठूला पहिरो नगए पनि साना–साना ढिस्का खसिरहेकोले बाटो अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । उहाँले यि क्षेत्रमा पहिरो सबै हटाए पनि यात्रा गर्न जोखिम कायमै रहेको बताउनुभयो । शनिबार राती विभिन्न ठाउँमा पहिरो गएको थियो । प्रहरीले आइतबार दिनभरी सबै ठाउँको पहिरो पन्छाए पनि देउराली र भालटारमा भने पहिरो पन्छाउने कार्य जारी रहेको छ ।