हेटौंडाः आज जनैपूर्णिमा । सनातन हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गएर गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ । श्रावण शुक्ल पूर्णिमाका दिनपर्ने यस दिनलाई ऋषितर्पणी भन्ने गरिन्छ । आज घर घरमा क्वाटीको सेवन गर्दा शरीर स्फुर्ति हुने विश्वास पनि गरिन्छ ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । आजै सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गर्ने प्रचलन छ । त्यसैले यस पर्वलाई ‘ऋषितर्पणी’ का नामले मानिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षा बन्धन मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।