हेटौंडाः बागमती प्रदेशमा तत्काल आइसोलेसन बेडको संख्या थप नहुने भएको छ । प्रदेशमा आइसोलेशन बेडको संख्या पर्याप्त भएका कारण तत्काल थप गर्ने योजनामा नरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बागमती प्रदेशमा हाल एक हजार तीन सय २४ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।

बागमती प्रदेशको कोभिड संकट व्यवस्थापन समितिले गत असारमा बागमती प्रदेशमा दुई हजार चार सय ५० आइसोलेसन बेड थप गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको डोरमणि पौडेलको संयोजकत्वमा रहेको उक्त समितिले १० प्रतिशत महिलाको लागि सुरक्षित हुने गरी उपत्यकाका तीन जिल्लामा एक हजार आइसोलेसन बेड थप गर्ने निर्णय गरेको थियो । यस्तै मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे र सिन्धुलीमा २/२ सय बेड, सिन्धुपाल्चोकमा एक सय बेड, रामेछाप दोलखा र रसुवामा ५०\५० बेड थप गर्ने बताएको थियो ।

पछिल्लो सयमा बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि क्वारेन्टिन र आइसोलेसनमा बस्नेकोे संख्यमा कमी आएको छ । बागमती प्रदेशको १३ जिल्लामा रहेको कुल एक हजार तीन सय २४ आइसोलसन बेडमा आइतबार चार सय चार जना बसेका छन् भने अन्य नौं सय २० बेड खाली रहेको छ । धेरै बेडहरु खाली रहेको अवस्थामा प्रदेशमा आइसोलेसन बेड थप नहुने सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईले बताउनुभयो । अहिले विश्वभर कोरोना महामारीको प्रकोप रहेको भन्दै प्रदेशका नागरिकहरुलाई जनचेतना अभिवृद्धि गरी मुख्यतः एक मिटरको भौतिक दूरी अनिवार्य कायम गर्न, बेलाबेलामा साबुन पानीले २० सेकेन्डसम्म हाल धोइरहन र अनिवार्य मास्क प्रयोग गर्न ज्ञान बाड्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अवस्थामा कोरोना विरुद्धको लडाई ज्ञान नै भएको हुँदा नागरिकहरुलाई सचेतना गराउन मन्त्रालयले जोड दिएको उहाँको भनाइ छ ।

हाल मकवानपुरमा ३५ बेड, काठमाडौंमा २७०, ललितपुरमा २२१, भक्तपुरमा ४२, रसुवामा ३५, नुवाकोटमा ३८, धादिङमा १४४, चितनवमा ३०२, सिन्धुलीमा २४, रामेछापमा ७५, दोलखामा ४१, काभ्रेमा २७ र सिन्धुपाल्चोकमा ७० आइसोलेसन बेड बागमती प्रदेशले तयारी अवस्थामा राखेका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईले बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेशभित्र आइसोलेसन बेड सञ्चालन गर्नेमा प्रदेश मातहतका आठ अस्पताल, आठ मेडिकल कलेज र १९ निजी क्षेत्रका अस्पतालहरु रहेका छन् । यस्तै हाल प्रदेशको राजधानी हेटौंडासहित काठमाडौं, ललितपुर, चितवन र काभ्रेको धुलिखेलमा रहेको ७ वटा कोरोना प्रयोगशालाहरुबाट पिसिआर विधिबाट कोरोना परिक्षण हुँदै आएको छ । छिट्टै सञ्चालनमा आउने गरी एउटा प्रयोगशाला काभ्रेको धुलिखेलमा थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना कोषमा ३० करोड ३३ लाख
बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ४० करोड राखेर कोष सञ्चालन गरेको छ । उक्त कोषमा बागमती प्रदेश सरकारले ४० करोड, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, विभिन्न संघ संस्था, व्यक्ति, कर्मचारीहरुको तर्फबाट ४ करोड ४० लाख २४ हजार ७ सय ३० रुपैयाँ गरी कुल ४४ करोड ४० लाख २४ हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ ।
हालसम्म उक्त कोषबाट १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । कोषबाट उपत्यकाका ३ महानगरपालिकालाई २० लाख दरले ६० लाख, हेटौंडा उपमहानगरपालिकालाई १५ लाख, प्रदेशका ४१ नगरपालिकालाई १२ लाखका दरले ४ करोड ९२ लाख, ७४ गाउँपालिकालाई १० लाखका दरले ७ करोड ४० लाख रुपैयाँ र स्थानीय तहका १२ जिल्ला विपद् व्यवस्थापन ५ लाखका दरले ६० लाख रुपैयाँ गरी हालसम्म १३ करोड ६७ लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै अहिले कोषमा ३० करोड ३३ लाख रुपैयाँ बाकी रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जानकारी दिएको छ ।

हालसम्म बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारमा खर्च गर्न भरतपुरको कोरोना विशेष अस्पताललाई एक करोड, रत्ननगर नगरपालिका अन्तर्गत गुञ्जमान अस्पतालमा कोरोना नियन्त्रण गर्न २० लाख, धुलिखेल नगरपालिकालाई धुलिखेल अस्पतलामा कोरोना नियन्त्रण गर्न २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति केन्द्रलाई ३ करोड ७७ लाख, हेटौंडा अस्पतालाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख, धादिङ, त्रिशुली र सिन्धुली अस्पतालाई ३१\३१ लाख, प्रदेश स्वास्थ्य निर्देशनालयलाई २७ लाख, स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख, चौतारा अस्पताललाई २१ लाख र अन्य स्वास्थ्य संस्थाहरुमा गरी कुल ९ करोड ९३ लाख निकासा गरिएको छ ।

५३४ जना संक्रमति निको
बागमती प्रदेशमा आइतबारसम्म एक हजार एक सय ४८ जनामा कोरोना भाइरसको सक्रमण देखिएको छ । आइतबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । काठमाडौंमा २२ जनामा, ललिपुरमा ८ जनामा, भक्तपुर, चितवन र सिन्धुलमाी १\१ जनामा गरी बागमती प्रदेशभर आइतबार ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेशको रसुवा जिल्लामा भने कोरोनामुक्त जिल्ला बनेको छ । यद्यपि कोरोना रसुवामा पनि देखा परिसकेकाले सामान्य रुपमा लिन नहुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले बताउनुभयो । प्रदेशमा हालसम्म ५३४ जना कोरोना निको भएर घर फकिएका छन् भने अझै ६ सय ४ जना उपचाररत रहेका छन् ।