निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हेटौंडामा सुरु भएको छ । मंगलबारबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको संघीय सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन् । हेटौंडा–१०, टिसिएनस्थित भुटनदेवी मैदानमा आयोजित महोत्सव आगामी १८ गतेसम्म चल्नेछ । शान्तिबाटिका संस्था नेपालसँगको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा नवीनतम निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री गरिने बताइएको छ । बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको प्रदर्शनी एवम् बिक्री हुने आयोजकको भनाइ छ । सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवम् बिक्री, कृषि उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरुको बिक्री वितरण हुनेछ । महोत्सवमा हेटौंडा आइडल प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति हुनेछ । शैक्षिक, घरजग्गा, अटो, खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवम् बिक्री समेतका लागि महोत्सवमा ३ सय वटा स्टल छन् ।
पछिल्लो समय मुलुकको व्यावसायिक क्षेत्रमा मन्दीजस्तै छाएको छ । यसबाट निर्माण व्यवसाय पनि अछुतो छैन । निर्माण व्यवसायसँगै अन्य व्यापार व्यवसाय उकास्न प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । तर, मकवानपुरका उद्यमी, व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले भने महोत्सवको बिरोध गरेको छ । महोत्सवमा बाहिरका व्यवसायीले स्टल राखेर सस्तोमा वस्तु बिक्री गर्दा स्थानीय व्यवसायी मारमा पर्ने भन्दै उद्योग वाणिज्य संघले महोत्सवको बिरोध गरेको हो । त्यसो त मकवानपुर उद्योग वाणिज्य संघ आफैंले पनि विगतमा थुप्रै पटक व्यापार महोत्वस आयोजना गरेको थियो । कोरोना महामारी अघिसम्म निर्माण व्यवसायी संघ र मकवानपुर उद्योग वाणिज्य संघले आलोपालो गरेर वर्षेनि हेटौंडामा व्यापार महोत्सव आयोजना गर्ने गरेका थिए ।
व्यापार, व्यवसाय, कृषि, पर्यटनलगायत आर्थिक क्षेत्रको प्रवद्र्धन गर्नु हरेक व्यापार महोत्सवको मुख्य उद्देश्य हुन्छ । महोत्सवमा घरेलु, औद्योगिक, व्यापारिक, कृषिलगायतका वस्तुको प्रदर्शनी र बिक्रीका लागि स्टल पनि राखिन्छ । तर, अधिकांश व्यापार मेला र महोत्सवमा पुगेका अवलोकनकर्ताको ध्यान भने विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम र खानपिनमा केन्द्रित भइरहेको हुन्छ । दर्शकलाई आकर्षित गर्न महोत्सवको आयोजकले विभिन्न प्रकारका खेल, गीत, संगीत, नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रम समावेश गर्दछन् । महोत्सवमा जाने दर्शक मुल गेटबाट प्रवेश गरेपछि अनिवार्य सबै स्टल अगाडि हुँदै सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक खेल भएको ठाउँमा जानुपर्ने व्यवस्था पनि आयोजकले मिलाउने गरेको छ । महोत्सव प्रवेश गर्ने र फर्कने समयमा बिक्री तथा प्रदर्शनीका लागि राखिएको स्टल अवलोकन गर्नुपर्ने भए पनि धेरैजसो दर्शकको नजर स्टलमा पुगेको हुँदैन ।
जुनसुकै नाम दिएर जेसुकै उद्देश्यले महोत्सव आयोजना गरे पनि अधिकांश दर्शक विभिन्न खेल, मनोरञ्जन तथा स्टेजमा हुने सांगीतिक प्रस्तुतिमै झुम्मिने परिपाटीले महोत्सव औचित्यपूर्ण हुने गरेका छ्रैनन् । महोत्सवमा हुने व्यापारिक कारोबार तथा नाफा÷घाटा आफ्नो ठाउँमा छ । आयोजकले जुन उद्देश्य राखेर महोत्सव आयोजना गर्दछ, त्यो पूरा हुनुपर्छ । निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको दोस्रो निर्माण तथा व्यापार महोत्सव पनि उद्देश्यमूलक र औचित्य पूर्ण बन्नुपर्छ । महोत्सवमा धेरै दर्शक हुलेर कारोबार धेरै गर्नेमात्र होइन, यसले व्यवसायको दीर्घकालीन प्रवद्र्धन गर्न सक्नुपर्छ । महोत्सव अवलोकन गर्ने दर्शक र महोत्सव आयोजकको ध्यान व्यवसायको प्रवद्र्धनमा केन्द्रित हुने हो भने यस्ता महोत्सवले व्यवसायीको हित गर्ने अपेक्षा गर्न सकिन्छ ।