हेटौँडा ः चिनियाँ नागरिकको अपहरण गर्ने ४ भारतीयलाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरिएको छ । चिनियाँ नागरिकलाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भीमफेदीको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमफेदीकी प्रमुख एवम् प्रहरी निरिक्षक ललिता ढकाल नेतृत्वको टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित २ जना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङलतिर भागेका थप २ जनालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत रहेका छन् । काठमाडौंको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक यु हुआनलाई भने फर्पिङबाट उद्धार गरिएको छ ।

मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अपहरणकारीको खोजी कार्य गरेको थियो ।