नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै आफू नथाकेको र नथाक्ने बताउनुभयो । दुई पटक प्रधानमन्त्री समेत भइसक्नुभएका प्रचण्डले आफू विरुद्ध भएको षड्यन्त्रका बारेमा आफू जानकार रहेको र आफू नयाँ क्रान्तिका लागि तयार रहेको समेत उद्घोष गर्नुभयो ।

नयाँ आत्मविश्वासका साथ नेकपा माओवादी केन्द्र अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले नेकपा माओवादी नयाँ आदोलनमा जानुपर्ने स्पष्ट पार्नुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभएसम्म र त्यस्तो कार्यकारी प्रमुखले ५ वर्ष शासन गर्न नपाउँदासम्म मुलुकमा स्थीरता नहुने, बेथितिको अन्त्य नहुने प्रचण्डको जीकिर थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारासहित सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, समुदाय, लिंगलाई आन्दोलित गर्ने हिसाबले एउटा नयाँ संकल्पसहित जाने तयारीमा रहेको पनि प्रचण्डको भनाइ थियो ।

पार्टीको भातृ संगठनको नगर भेलालाई सम्बोधन गर्नुहुँदै प्रचण्डले आफ्नै व्याख्या र प्रशंसासँगै सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेविरुद्ध नरम शैलीको विरोधमा झण्डै ४० मिनेट खर्चनु भयो । ३५ वर्षदेखि पार्टी प्रमुख हुनुभएका प्रचण्डले अझै नथाकेको उल्लेख गर्नुलाई पद लोलुपताको संज्ञा दिन सकिन्छ । प्रचण्डले उत्तरी मुलुक चीनको माओवादलाई पछ्याउन सुरु गर्दाको चीन र आजको चीन बीच तुलना नै गर्न नसकिने गरी सकारात्मक परिवर्तन भइसक्दा प्रचण्डले अझै आफ्नो विकल्प नभएको दावी मात्रै गर्नु हाँस्यास्पद हुन सक्छ ।

१० वर्ष सशस्त्र द्वन्द्वको समेत नेतृत्व गर्नुभएका प्रचण्डले साढे ३ दशकको आफ्नो नेतृत्वमा समाज र मुलुकमा ठोस् परिवर्तन के भयो भनेर भन्न सक्ने अवस्था छैन । माओवादीसँग जनताले आशा गरे पनि माओवादी संगठन आफैंमा छिन्न भिन्न हुँदै आज अस्तित्व नै संकटमा पो पर्ने हो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था समेत देखिएको छ ।
२०७९ सालको निर्वाचनमा तेस्रो दलको रुपमा स्थापित हुँदै गर्दा पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमालेसँग च्याँखे दाउ थापेर सत्ताको नेतृत्व गर्न पुगेका प्रचण्ड अहिले सत्ता बाहिर हुँदाको पीडा बोलिरहेको महसुुस गर्न कठिन छैन ।

सरकार गठनमा नेपाली राजनीतिक दलहरु आपसमा समान प्रकृतिका छन् । तर, प्रचण्डले वर्तमान सरकारलाई दलालले मिलाइदिएको, भ्रष्टहरुले मिलाइदिएको, काँग्रेस–एमालेको मेलबाट सरकार नबनेको भन्दै तर्क गर्नुले जनमतमाथि समेत अपमान भएको मान्न सकिन्छ । सरकारमा रहँदा गरेका कामको विषय, आफ्नो पार्टी मातहतका स्थानीय सरकारहरुको कामका विषयमा बोल्ने विषय खोज्न नसकेका प्रचण्डले आफ्नो विकल्पमा पार्टीमा अरु कसैको खोजी गर्ने कल्पना सत्य हुनै सक्दैन । १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले यतिबेला कुलमान घिसिङलाई नियुक्ति दिएको तर्क गरेर आफ्नो राजनीति जोगाउने प्रयास गर्नु कति जायज हुन्छ ? आफू पार्टीमा प्रत्यक्ष निर्वाचन प्रणाली लागु नगर्ने, अधिवेशनको नाममा औपचारिकता मात्रै कायम गरेर निरन्तर नेतृत्वमा रहिरहने प्रचण्डले मुलुकको निर्वाचन प्रणाली भने प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्ने दावी गरिरहनुभएको छ । यो पनि उत्तिकै सान्दर्भिक देखिन्न ।

छोरीलाई नगरप्रमुख बनाउन, बुहारीलाई मन्त्री बनाउन व्यस्त प्रचण्डले मुलुकको विकासमा गरेको योगदानको चर्चा गरेको पटक्कै सुहाउँदैन । पहुँच हुँदा भरतपुर महानगरमा मात्रै बजेट र कार्यक्रम खन्याएका प्रचण्डले आफ्नो वक्तव्यमा थाहा नगरमा आफ्नो पार्टीले नेतृत्व गर्दै गर्दा गरेका राम्रो काम बताउने स्थिति रहेन । तर, पनि प्रचण्ड आफूलाई नथाकेको, अझै अर्को आन्दोलनको नेतृत्व गर्ने बताइरहनु जनतामाथि भ्रम सिर्जना गर्ने र कार्यकर्तामाथि अविश्वासको साविती मात्रै हो ।

साढे ३ दशक पार्टीको नेतृत्व गरेका प्रचण्डले आफ्नो उत्तराधिकारी तयार पार्न नसक्नु, प्रचण्डका गुरु मोहन वैद्य, सहयोद्धा बाबुराम भट्टराई प्रचण्डको साथमा नहुनु, प्रचण्डका अनुयायी विप्लप, रामबहादुर थापा बादलहरु प्रचण्डपथबाट बाहिरिनु, महरा, जनार्दनहरु काण्डै काण्डमा मुछिनु पनि प्रचण्डको उपलब्धी हुनुपर्छ । यदि प्रचण्ड कुशल नेता भएका भए १० वर्ष तत्कालिन व्यवस्थाविरुद्ध हतियार उठाउने आँट गरेको माओवादी यतिबेला यत्तिको छिन्न भिन्न हुने नै थिएन । अझै पनि प्रचण्डले आफूलाई नथाकेको, आन्दोलनको नेतृत्व गर्न सक्षम रहेको दावी गर्नु समग्रमा नेकपा माओवादी केन्द्रलाई अझ संकटमा पु¥याउने अठोट हो ।

कार्यकर्ताले प्रचण्डको प्रतिपक्षी लक्षित अभिव्यक्तिमा मिठास् खोजी खोजी ताली बनाउनु, सिटी फुक्नु र प्रचण्डको विकल्प नै नभएको भनी चाकडीको भाषा बोल्नु अझ खतरनाक छ । नेकपा माओवादी केन्द्र सीमित नेता र तिनका कार्यकर्ताको मात्रै पार्टी नभई कुनै समय मुलुकको कायापलट गर्ने पार्टीको रुपमा आम नागरिकले आशा गरेको पार्टी पनि हो भनेर बिर्सनु हुन्न । त्यसैले प्रचण्डलाई थकाई लागेको छैन भनेर नेकपा माओवादी केन्द्र प्रचण्डको निजी सम्पत्तिको रुपमा सीमित रहिरहनु जायज हुन्न । प्रचण्डलाई थकाई लाग्नु र नलाग्नुसँग भन्दा पनि आजको नेपाली समाजलाई हाँक्ने माओवादी बनाउन प्रचण्ड पर्याप्त हुन् या होइनन् भन्ने विषयमा माओवादी केन्द्रका नेता, कार्यकर्ताले सघन विश्लेषण गर्नुपर्छ ।