चोरीका गहनासहित पक्राउ परेका २ जनालाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडाः मकवानपुर प्रहरीले सुनका गहना चोरी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१५ घर भई हाल हेटौँडा–४, भैरवरोडमा डेरा गरी बस्ने २४ वर्षीय मनोज पुलामी र चोरीका गहना खरिद गर्ने हेटौंडा–७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका संचालक २५ वर्षीय धीरज विश्वकर्मा छन् ।

पुलामीले हेटौँडा–८, कमानेका सन्तोष अधिकारीको घरबाट गत कात्तिक ७ गते सुनका गहना, नगद र मोबाईल चोरी गरेका थिए । पुलामीलाई सोधपुछ गर्दा चोरीका केही थान गहना शिवशक्ति सुनचाँदी पसलका संचालक विश्वकर्मालाई बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

उनीहरुलाई चोरीका गरगहनासहित बिहीबार पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ ।