दुर्घटना आकस्मिक घटना हो । कसैले चाहेर दुर्घटना हुँदैन । दुर्घटना दुखद् घटना पनि हो । दुर्घटना त्यस्सै हुन्न । दुर्घटना हुनका लागि केही न केही कारण हुन्छन् । दुर्घटनाका कारण ठूलो जनधनको क्षति व्यहोर्नु पर्ने बाध्यता रहन्छ । शनिबारको अंकमा समृद्ध समाज दैनिकले देशभर विभिन्न घटनामा परी एकजना विदेशी नागरिकसहित १५ जनाको मृत्यु भएको समाचार प्रकाशन गरेको थियो । जसमध्ये एउटा दुर्घटनामा ५ जना र अर्को दुर्घटनामा ४ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो भने चितवनमा भएको अर्को दुर्घटनामा परी एकजनाको मृत्यु भएको थियो । सवारी अथवा यातायातका साधन दुर्घटनामा परी एकैदिन १० जनाको मृत्यु हुनु सामान्य विषय होइन । हरेक दिन दुर्घटनामा परी मृत्यु हुने खबर हामीले प्रकाशन गर्दै आएका छौं ।
दुर्घटनाका समाचार प्रकाशन गर्दै गर्दा हामी यसको न्यूनीकरणमा सरोकारवालाको ध्यान जाओस् भन्ने अपेक्षा राख्दछौं । हाम्रा कतिपय पाठकले कति यो मृत्युको समाचार लेखेको भनेर गुनासो समेत गरिरहनुभएको हुन्छ । तर, हामी उहाँहरुलाई घटनाका बारेमा समाचार प्रकाशन गर्दै गर्दा सरोकारवालाको ध्यानाकर्षण होस् भन्ने अपेक्षा बारे अवगत गराउने गरेका छौं । सवारीका साधनको दुर्घटनाका विभिन्न कारणहरु हुन्छन् । चालकको लापरवाही, सडक पूर्वाधारको कमजोर अवस्था, सवारी साधनको प्राविधिक गडवडी, सुरक्षा निकायको लापरवाही, कानुन कार्यान्वयनको कमजोर अवस्था र नागरिकका हेलचेक्र्याइँ सवारी दुर्घटनाका प्रमुख कारण हुन् । यी मध्ये कुन पक्ष बढी जिम्मेवार छ र दुर्घटना न्युनीकरणका लागि कसरी, के–कस्ता काम गर्न सकिन्छ भनेर सरोकारवालाले ध्यान दिन सकेको देखिन्न ।
सवारी दुर्घटनाबाट मृत्युको संख्यालाई मात्रै हेरेर डराउने, तर्सने या आगामी दिनमा के गर्ने भनेर हेरिनु पर्याप्त हुन्न । दुर्घटनामा परी घाइते तथा अंगभंग हुनेको अवस्था, भौतिक क्षति र त्यसले पार्ने बहुपक्षीय प्रभावका विषयमा पनि विश्लेषण जरुरी छ । यसरी सर्वपक्षीय विश्लेषण गर्ने हो भने यातायात वा सवारी दुर्घटनाको विषयमा सघन अध्ययन गरी जिम्मेवार भएर सवारी दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने आवश्यकता महसुस हुन सक्ने अवस्था रहन्थ्यो होला ।
दुर्घटनाको विषयमा राज्यका निकाय जति गैरजिम्मेवार हुँदै शान्त रहँदै आएको छ त्यो भन्दा पनि चिन्ताको विषय नागरिक तहबाट राज्यलाई जिम्मेवार हुन प्रेरित गर्ने कार्य हुन सकेको छैन ।
नागरिक समाजको तर्फबाट सवारी तथा यातायात दुर्घटनाको सम्बन्धमा सरोकारवालालाई जिम्मेवार हुन प्रेरित गर्ने, जिम्मेवार हुन बाध्य बनाउनका लागि काम गर्नुपर्ने देखिन्छ । सवारी तथा यातायातका साधन दुर्घटनामा परी घाइते हुने व्यक्ति वा तिनका परिवारले यो मुद्दालाई उठाउने हो भने राज्यलाई अझ सशक्त दबाव रहनेछ ।
राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन पीडित समूह नै सक्रिय हुँदा अझ प्रभावकारी हुने निश्चित छ । सडक पूर्वाधारको गुणस्तर कायम गर्ने, निर्माण सुरु भएका, स्तरोन्नतिको कार्य सुरु भएका योजनाको समयमै सम्पन्न गर्नेतर्फ राज्यलाई जवाफदेही बनाउने, यातायात क्षेत्रमा भएका वेथितिलाई न्यूनीकरण गर्नेतर्फ सबैको ध्यान जाने हो भने दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । आधुनिक समयमा अनेक प्रकारका प्रविधिको प्रयोग गरेर प्रभावकारी काम गर्न सकिने तथ्यलाई मनन् गरेर राज्यले आफ्नो जवाफदेहिता निर्वाह गर्नु नै सबैभन्दा बढी प्रभावशाली र बुद्धिमतापूर्ण हुनेछ । अन्यथा दुर्घटनाको यो नियतिले अन्ततः जोकसैलाइ प्रभावित गर्न सक्छ।