हेटौँडाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नथाकेको र नथाक्ने बताउनुभएको छ । शनिबार मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफू विरुद्ध भएको षड्यन्त्रका बारेमा आफू जानकार रहेको उल्लेख गर्नुभयो ।
आफू थाकेको नभई नयाँ क्रान्तिका लागि तयार रहेको समेत प्रचण्डले उद्घोष गर्नुभयो । नयाँ आत्मविश्वासका साथ नेकपा माओवादी केन्द्र अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले नेकपा माओवादी नयाँ आदोलनमा जानुपर्ने स्पष्ट पार्नुभयो । “जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन, र त्यो कार्यकारी प्रमुखले ५ वर्ष शासन गर्न पाउँदैन स्थीरता हुँदैन, बेथितिको अन्त्य हुँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारासहित सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, समुदाय, लिंगलाई आन्दोलित गर्ने हिसाबले एउटा नयाँ संकल्पसहित जाने तयारीमा छौं” प्रचण्डले भन्नुभयो ।
फेरि नयाँ आन्दोलन, क्रान्तिको नेतृत्व गर्नैपर्छ भन्ने संकल्प गरेको उहाँले बताउनुभयो । नागरिक समाज र वुद्धिजीवीले विकृतिको अन्त्य गर्ने गरी आन्दोलनको नेतृत्व गर्न भनेको प्रचण्डले बताउनुभयो । भ्रष्टाचार र वेथितिका विरुद्ध आन्दोलनको नेतृत्व गर्न तयार रहेको प्रचण्डले बताउनुभयो । पचासौं पटक माओवादी सकियो, प्रचण्ड सकियो भनेर घोषणा गरेको बताउनुहुँदै प्रचण्डले भन्नुभयो, “प्रचण्डको अवसान भइसक्यो, प्रचण्ड फर्केर आउँदैन भनेर उल्टापुल्टा लेखिरहेका छन् । मैले भनेको छु, प्रचण्ड र माओवादी मर्दैन । प्रचण्ड र माओवादी जिउँदैछ । प्रचण्ड फेरि एक पटक नयाँ क्रान्ति मार्फत तिमीहरुका सम्पूर्ण षड्यन्त्र र भ्रष्टाचारका विरुद्ध, वेथितिका विरुद्ध विजय हासिल गरेर छाड्छ भनेर घोषणा गरेको छु ।”
माओवादीले अर्को एउटा मेचि–महाकाली अभियान चलाउने जानकारी दिनुहुँदै ७५३ वटै पालिकामा खबरदारी सभा गर्ने उहाँले उद्घोष गर्नुभयो । प्रचण्डले सभामा “उनीहरुको सातो गइसकेको छ । होपलेस भइसकेको छ” भनेर उल्लेख गर्नुभए पनि उनीहरु भनेको को हो भन्ने स्पष्ट पार्नुभएन । केपी ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका काम आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त मात्रै प्रस्तुत भएको प्रचण्डको भनाइ थियो । “ओली सरकारले सिन्को भाँचेको छैन”, प्रचण्डले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चमा मैले सम्पूर्ण तागतसहित नेपालको प्रतिनिधित्व गरेर कुरा राखेको छु ।” आफ्नै आग्रहमा संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएको र आफूलाई धन्यवाद समेत भन्नुभएको प्रचण्डले दावी गर्नुभएको छ । नेपाली जनताको अधिकार स्थापित गर्न माओवादी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको उहाँले बताउनुभयो ।
माओवादीले राम्रा काम गर्दा गर्दै दलालहरुलाई सह्य नभएको उहाँले बताउनुभयो । दलाल पुँजीपति, विचौलियाहरुको सेटिङ आफू नेतृत्वको सरकार भत्काइदिएको र अहिलेको सरकार ओली र देउवाले मिलेर बनाएको नभई दलाल, पुँजीपति र विचौलियाले बनाएको प्रचण्डको दावी छ । प्रचण्ड नेतृत्वको सरकारले हामीलाई सिध्याउने भयो भनेपछि काँग्रेस र एमाले मिलेको प्रचण्डको जीकिर छ । वर्तमान सरकारप्रति जनताको आक्रोश बढेको प्रचण्डले बताउनुभयो ।
बाढी पहिरो आउँदा सरकार छ छैन समेत थाहा नपाएको दावी गर्नुहुँदै बाढी पहिरोका बेलामा आफूले सर्वदलीय बैठक बोलाएको थाहा पाएपछि बल्ल सरकारले सर्वदलीय बैठक बोलाउन बाध्य भएको उहाँको भनाइ छ । अहिले जनताले विकल्पको खोजी गरेको र माओवादी नेतृत्वप्रति, प्रचण्डप्रति जनताले आशा बढेको उहाँले बताउनुभयो । देशलाई माया गर्ने, जनतालाई अधिकारसम्पन्न गराउन माओवादीको भूमिकालाई जनताले बुझ्न थालेको महसुस आफूले गरेको प्रचण्डले बताउनुभयो । प्रचण्डले आफू नेतृत्वको सरकारले उल्लेखनीय कार्य गरेको समेत बताउनुभएको छ ।